चुडामणिको अवैध सम्पत्तिमा पत्नी कल्पना तानिइन्
काठमाडौं । कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय दुरुपयोग गरी चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत)आर्जन गरेको अभियोगसहित सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ ।
शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अकुत मुद्दामा शर्मालाई फरार देखाइएको छ । अख्तियारले शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता ०७३ साल मंसिर मसान्तसम्मको चल अचल सम्पत्ति जाँच गरिएको जनाएको छ ।
अख्तियारका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले आयोगको निर्णयअनुरूप शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत) सम्पत्ति मुद्दा दर्ता गरिएको बताए । ‘शर्माले सेवा अवधिमा आफू र आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका विषयमा संकलित तथ्य प्रमाणउपर छानबिन एवं विश्लेषण गर्दा आयोग अदालतमा मुद्दा लैजाने निष्कर्षमा पुगेको हो’, प्रवक्ता पाण्डेयले ।
६ महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर अवैध सम्पत्ति आर्जनको दाबी गरेको छ । निजामती सेवाको जाँच अवधिमा शर्माले तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आयआर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको छ ।
अनुसन्धानबाट उक्त अवधिमा चल अचल सम्पत्ति सिर्जना एवं सेयर लगानीलगायत शीर्षकहरूमा समेत गरी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेको देखिएको छ । यसरी वैध आयको तुलनामा ४ करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको हो । ‘निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आयो । निज चूडामणि शर्मा र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरी आफ्नो हैसियतभन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात देखिएको छ’, अदालतमा बुझाएको अभियोगपत्रमा उल्लेख छ, ‘विभिन्न वित्तीय संस्था तथा प्रालि एवं कम्पनीका सेयर खरिद तथा लगानी गरेको, सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गालगायत चल अचल सम्पत्ति खरिद गरेको देखिन आएको छ ।’ अन्नपूर्णमा खबर छ
प्रतिक्रिया