ओली आज प्रधानमन्त्री, व्यापारीको घरमा बैठक बसेपछि जुट्यो सहमति
काठमाडौं। एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो।
राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र पार्टी एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः समितिको बैठक बस्ने निर्णय गरेको थियो। एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
उक्त सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरी ओलीलाई प्रधानमन्त्री बनाउन दाबी गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।
विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ। संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।
एमाले र माओवादी केन्द्रसँग स्पष्ट बहुमत रहेकाले यी दुई दलले संयुक्त रूपमा प्रधानमन्त्रीमा ओलीलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष दाबी गर्ने भएका हुन्। ‘निर्वाचन आयोगले नतिजा राष्ट्रपतिलाई बुझाइसकेकाले भोलि प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिसमक्ष जाने निर्णय भएको छ’, एकता संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने।
२ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ। सरकार गठनका लागि १ सय ३८ सिट चाहिन्छ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकको नतिजा सार्वजनिक नगर्ने अडान लिएपछि निर्वाचन भएको करिब ७० दिन बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन।
तर, आयोगले तोकेको समयभित्र दलहरूले बुधबार समानुपातिकको क्लस्टर मिलाएर प्रतिनिधि छनोट गरी आयोगमा बुझाएपछि आयोगले साँझ ८ बजे राष्ट्रपतिलाई नतिजा बुझाएको थियो।
त्यसअघि ओली र दाहालबीच सरकार गठनदेखि पार्टी एकताका विषयमा भएको ‘वन(अन(वन’ वार्तामा भएका सहमतिलाई एमाले र माओवादी केन्द्रका बैठकले अनुमोदन गरेका थिए। आकस्मिक रूपमा एमाले स्थायी समिति र माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसी दुई अध्यक्षबीच भएको सहमतिलाई अनुमोदन गरेका थिए। मानभवनस्थित एक जना व्यापारीको घरमा बसेको एमाले स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव नेपालले ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। अन्नपूर्णबाट
प्रतिक्रिया