पार्टी कार्यालय अगाडि नेविसंघको धर्ना र नाराबाजी
काठमाडौं । नेपाली कांग्रेसभित्र तीव्र गुटबन्दी भएको र त्यसको अन्त्य गर्नु पर्ने भन्दै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टी केन्द्रीय समितिको बैठक चल्दै गर्दा रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेता–कार्यकर्ताहरु धर्नामा बसेका हुन् ।
झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी गरेका हुन् । धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ लेखिएका प्लेकार्ड बोकेका थिए । केहीले सांकेतिक विरोधस्वरुप कालो चस्मा लगाएका थिए ।
त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति शेरबहादुर देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए । ‘गुटरहित’ लेखिएको चस्मा नेवि संघले दिए पनि सभापति देउवाले लिन अस्वीकार गरेका थिए । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष दुई खेमा विभाजित छन् भने अन्य थुप्रै गुट–उपगुट सक्रिय छन् ।
विद्यार्थी नेताहरुले कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई केन्द्रीय कार्यालयभित्र प्रवेश गर्नै लाग्दा गेटमै रोकेर आफ्ना मागबारे जानकारी गराउँदै नेविसंघ र पार्टीलाई विधिसम्म सन्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया