मन्त्रिपरिषद् विस्तार हुँदै, प्रदेश ३ मा को–को बन्दैछन् मन्त्री ?

हेटौंडा । सबैभन्दा पहिले मुख्य मन्त्री पाएको प्रदेश ३ को मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपेर पौडेलले ७ सदस्यीय मन्त्रिपरिषद गठन गर्न लागेका हुन् । साँझ ५ बजे सपथग्रहणको कार्यक्रम तय भएको छ ।

एमालेका तर्फबाट रामेछापका प्रदेशसभा सदस्य कैलाश ढुंगेलले आर्थिक मामिला तथा योजना, सिन्धुपाल्चोकका अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरणको जिम्मेवारी लिनेछन् । यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी चितवनका सांसद दावादोर्जे लामाले सम्हाल्नेछन् । एमालेको भागमा सामाजिक विकास मन्त्रालय परे लामाले नै उक्त मन्त्रालय सम्हाल्नेछन् । ढुंगेल र लामा अध्यक्ष केपी ओलीनिकट मानिन्छन् भने नेपाल वरिष्ठ नेता माधव नेपाल समूहका हुन् । मंगलबार बसेको पार्टी प्रदेश सचिवालयले मन्त्रीहरूको नाम टुंग्याएको एमाले प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

माओवादीमा विवाद
माओवादीबाट मन्त्री चयन गर्ने क्रममा विवाद भएको छ । दलका नेता जमरकट्टेलले सिन्धुपाल्चोकको युवराज दुलालको नाम अघि सारेपछि अरु नेताहरु असन्तुष्ट भएका हुन् । लामो समय प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका दुलाल अग्नि सापकोटा वनमन्त्री हुँदा स्वकीय सचिव थिए ।
माओवादी भने सामाजिक विकास मन्त्रालय आफ्नो भागमा परे कुमारी मोक्तान या युवराज दुलालमध्ये एक जनालाई पठाउने तयारीमा छ । समावेसीताको हिसाबले पनि कुमारी मोक्तानलाई मन्त्री बनाउन माओवादीमा दबाव छ । तर, दुलाललाई मन्त्री बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दवाव दिएपछि विवाद भएको बताइएको छ । पछिल्लो समय दुलाल राजनीतिभन्दा पनि व्यापार र ठेक्कापट्टामा संलग्न छन् । माओवादी संसदीय दलको उपनेतासमेत रहेकी मोक्तानलाई मन्त्रीको शपथका लागि तयार हुन विहानै मुख्यमन्त्री पौडेलले सूचना दिएका थिए । तर पार्टीबाट दुलालको नाम आएपछि उनले आपत्ति जनाएकी छन् । माओवादीले महिला र जनजातिलाई अपमान गरेको आरोप मोक्तान पक्षले लगाएको छ ।
आजको मन्त्रीपरिषद् विस्तारसँगै तत्कालका लागि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । यसअघि मुख्यमन्त्री पौडेलले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ खुवाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित