फेरि पनि भण्डारीकै पालो
काठमाडौं । निर्वाचन आयोगले फागुन २९ मा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय गरेसँगै वाम गठबन्धनभित्र राष्ट्रपति कसलाई बनाउने भन्नेमा तिब्र छलफल शुरु भएको छ । एकाथरी विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने पक्षमा छन् भने अर्कोथरी नयाँलाई पद दिनुपर्ने पक्षमा छन् ।
स्रोतका अनुसार गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ। गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउने पक्षमा उभिएका छन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्याउने पक्षमा रहेको एमालेका एक नेताले बताए । ‘राष्ट्रपतिमा भण्डारी नै दोहोरिने भएपछि हाम्रो अध्यक्ष पनि उपराष्ट्रपतिमा पनि नन्दकिशोर पुनलाई नै दोहोर्याउने पक्षमा हुनुहुन्छ ।’ माओवादीका एक नेताले माईन्यूज नेपालसँग भने ।
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भन्दै उनीहरूले आफूहरूको कार्यकाल २ वर्ष मात्र पुगेको भन्दै दोहोरिने इच्छा व्यक्त गरेका थिए । नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए।
प्रतिक्रिया