संसदीय दलको नेतामा देउवा र सिंहमध्ये कसको पल्लाभारी ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मतदान जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको हो । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवार छन् ।
सोमबारै संघीय संसदको बैठक बस्ने भएकाले पनि नेताहरु छिटोछिटो आफ्नो संसदीय दलको नेता छान्न उत्साही देखिएका छन् । निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु भएको जनाएको छ ।

५० मिनेटको अवधिमै ३३ मत खसिसकेको छ । मतदानको समय दिउँसो १ बजेसम्मलाई रहे पनि छिट्टै सतप्रतिशत मतदान भए तत्कालै गणना गरिने भएको छ । निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा चलिरहेको छ । संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदैछ ।पहिलो मतदान भने सिंहले गरेका छन् ।

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भइरहेको हो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ ।सिटौला पक्षका भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । अंकगणितीय हिसाबले देउवा अगाडि रहेका छन् । उनी बहुमतप्राप्त छन् । देउवाका ६३ मध्ये ४० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ ।

देउवाले यही दाबीलाई आधार मानेर आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन । काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो । दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित