नागरिक लगानी कोषको लगानी एक खर्व बढि
सुविधा दिन नयाँ योजना : कार्यकारी निर्देशक पोखरेल
काठमाडौं । नागरिक लगानी कोष २७ वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ । देशको आर्थिक विकासको मूख्य लक्ष्यसहित स्थापना भएको यस कोष २०४६ सालको राजनीतिक परिवर्तन पछि २०४७ सालमा स्थापना भएको थियो ।
नागरिक लगानी कोष ऐन, २०४७ जारी भएको दिनलाई नै आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको यस कोषले आइतबार आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ । नागरिक लगानी कोष ऐन अन्तर्गत स्थापना भएको यस कोषमा नेपाल सरकारको सार्वजनिक वित्तीय संस्थाको रुपमा स्वामित्व रहेको छ ।
नेपालमा रहेका कर्मचारी तथा स्वरोजगार व्यक्तिहरुको मात्रै कोष कट्टा गरी बचत गर्दै आएको यस कोषले अब वैदेशिक रोजगारीमा जाने कामदारको समेत बचत गर्ने तयारी शुरु गरेको छ । सो सुविधा अन्तर्गत नागरिक लगानी संकाय कोष खडा गरी चालु आर्थिक वर्षदेखि नै उक्त सेवा शुरु गरिसको छ । यो सुविधा विशेष गरेर वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपाली कामदारहरुलाई लक्षित गरी ल्याएको हो ।
सेवाग्राहीहरुलाई कोषले हाल अवकाश कोष योजना, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानी कोष योजना साथै विभिन्न बीमा कोष योजना अन्तर्गत सेवा उपलब्ध गराउँदै आएको छ । कोषले हाल आफ्ना सेवाग्राहीहरुलाई आवाश कर्जा वापत २५ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म कर्जा दिदै आएको छ ।
आवास कर्जाका साथै शैक्षिक कर्जा, सरल कर्जा लगायतका सुविधा समेत दिदै आएको कोषले अन्य विभिन्न उद्देश्यका लागि समेत सेवाग्राहीलाई कर्जा दिने बताएको छ ।
कोषले २७ वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न नयाँ–नयाँ योजनाहरु समेत अघि सारेको छ । विक्रम संवत २०५२ सालमा नागरिक एकांकन योजना, २०५३ सालमा उपदान कोष योजनालगायतका लोकप्रिय योजना ल्याएको यस कोषले बढी भन्दा बढी सुविधा दिन विभिन्न योजनाहरु थप गर्दै आएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउँछन् ।
कोषले हाल १ खर्ब भन्दा बढी रकम लगानी गरेको छ । कोषमा ६ लाख ३० हजार भन्दा बढि सेवाग्राहीले हाल कोषबाट प्रत्यक्ष सुविधा लिइरहेका छन् । कोषको शेयर पूँजी पौष मसान्तसम्म ७४ करोड ३ लाख रुपैयाँ रहेको छ भने खुद स्थिर सम्पति करिब ९३ करोड रुपैयाँ रहेको छ ।
चालु आबको पौष मसान्तसम्म कोषले २ करोड ८६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । कोषले तोकिएको प्रतिफल दिएर थोरै सेवा शुल्क लिने अनि बाँकी सबै रकम सहभागीलाई नै दिदै आएको छ ।
कोषले आफ्ना सेवाग्राहीको हितका लागि जोखिम रहित क्षेत्रमा मात्रै लगानी गर्ने गर्ने गरेको कार्यकारी निर्देशक पोखरेल बताउँछन् । कोषले तामाकोशी जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ लगानी गरेको छ जुन आयोजना निर्माणको कार्य अहिले करिब करिब अन्तिम चरणमा पुगिसकेको छ ।
नेपाल सरकारसँग समन्वय गरेर पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्दै आएको कोषले सेवाग्राहीको हितलाई नै विशेष प्राथमिकता दिदै आएको छ । कर्मचारीले पाउँदै आएको सेवासुविधा कर्मचारीको गाँस काटेर कट्टा गरिएको रकम डुब्न नदिने बताउँछन् कोषका कार्यकारी निर्देशक पोखरेल ।
नयाँ संविधान अनुसार निर्माण भएका संघीय स्वरुप अनुसार मुलुक यतिबेला संघीयतामा प्रवेश गरिसकेको छ । तिनै तहको निर्वाचन सम्पन्न भइसके पश्चात निर्माण भएको प्रादेशिक संरचनामा जाने समेत कोषको तयारी छ । सेवाग्राहीहरुलाई चाँडो र आफ्नै ठाउँमा सेवा सहज रुपमा दिने उद्देश्यले कोषलाई प्रदेश–प्रदेशमा लैजाने तयारी भइरहेको कार्यकारी निर्देशक पोखरेलको भनाई छ ।
कोषको कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न ऐन संशोधन गर्नुपर्ने रणनीति अघि सारिएको छ । पुरानो ऐनलाई समय सापेक्ष परिवर्तन गर्दै लाने हो भने कोषका कार्यक्रमबाट सेवाग्राहीले थप सुविधा पाउने उनले बताए । कोषको वार्षिकोत्सवमा बोल्दै अर्थ सचिव शंखरप्रसाद अधिकारीले समय सापेक्ष रुपमा नागरिक लगानीकोषले आफ्नो भूमिका निर्भाह गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया