नेशनल लाइफ इन्स्योरेन्समा सेयर विवादले लाभांश वितरणमा रोक

nationallife

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका संस्थापक लगानीकर्ताको शेयर विवादका कारण शेयर सदस्यहरूले लाभांश पाउन सकेका छैनन् । कम्पनीले आम शेयर सदस्यलाई लाभांश वितरण गर्ने स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा विवरण पठाए पनि संस्थापक लगानीकर्ताबीच शेयर बाँडफाँडका विषयमा विवाद देखिएपछि बोर्डले लाभांश वितरणमा रोक लगाएको हो ।  

 यता, कम्पनीका डेपुटी जनलर म्यानेजर सुरेशराज खत्री भने सिल्केड नामको कम्पनीले शेयर नामसारीका निम्ति कम्पनीमा निवेदन दिएको हुनाले उक्त निवेदनको विषयमा बीमा समिति र धितोपत्र बोर्डमा स्वीकृतिका निम्ति पठाएको जानकारी दिएको वताउने गरेका छन्  । कम्पनीले जारी गर्न लागेको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि पनि एक प्रतिशतभन्दा बढी शेयर लगानी भएकाहरूसँग अग्रिम रकम दाखिला गर्नुपर्ने व्यवस्था छ ।

 त्यसका निम्ति पनि सिल्केडको नाममा एक प्रतिशतभन्दा बढी शेयर रहेकाले पनि उक्त कम्पनीको विवाद चाँडो समाधान होस् भन्ने पक्षमा इन्स्योरेन्स रहेको छ ।  एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका कम्पनीको शेयर खरिद बिक्री हुँदा नियामक निकायको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकाले कम्पनीको २०१७ मा शेयर खरिदका लागि सिल्केडले निवेदन दिएको थियो । सिल्केडको २ दशमलव १५ प्रतिशत संस्थापक शेयर रहेको छ ।
केही समय अघि अजेन्द्र सिंहले बेलायतमा दर्ता गरेको सिल्केडको नाममा धेरै अघि शेयर किने पनि हालसम्म शेयर स्वामित्व नदिएको भन्दै बोर्डमा उजुरी हालेका थिए । ‘सो शेयर स्वामित्व मिलाएर आउन कम्पनीलाई भनेका छौं,’ धितोपत्र बोर्ड स्रोतले भन्यो–‘सोही विवादका कारण हामीले बोनस शेयर वितरणमा रोक लगाएका हौं । कम्पनीको शेयरका विषयमा विवाद छ, शेयर बाँडफाँड नमिलेसम्म बोनस शेयर बाँड्न मिल्दैन ।’
सिल्केडले विक्री गरेको शेयर स्वामित्वका बारेमा जानकारी बोर्डले मागेको छ । मल्टिनेसनल कम्पनीका कारण विवाद भएको हुँदा यसलाई जतिसक्दो छिटो टुंगाउनुपर्ने बोर्डको भनाई छ । बोसन शेयर बाँडफाँड नभइ हकप्रद शेयर दिन मिल्दैन । तीन महिना अघि नै बोर्डले बीमा समितिलाई यस विषयमा जानकारी गराएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । समितिले पनि शेयर बाँडफाँडका विषयलाई छिटो टुंगो लगाउन कम्पनीलाई दबाब दिइरहेको छ ।
समितिका अध्यक्ष चापागाईंले भने–‘नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनीमध्ये केही विवाद मिलाइदिनका लागि भन्दै समितिमा आएर विदेशी कम्पनीले संस्थापक शेयर लगानी गरेको बताएका थिए । तर, उक्त कम्पनीको शेयरधनीहरुको विवादका कारण उनीहरुले प्रष्ट कुरा राखेनन् ।’
तर, उनीहरुले कम्पनीको शेयर आफूहरुले किनेको भन्दै उक्त शेयर आफ्नो नाममा रहेकाले नेसनल लाइफ इन्स्योरेन्सका संस्थापक शेयर पनि सिल्केडको नाममा आउनु पर्ने आशय व्यक्त गरेको चापागाईंले बताए ।

  चापागार्इंले उनीहरुलाई विदेशमा रहेको कम्पनीको स्वमित्व कसको हो भन्ने समितिले नहेर्ने तर विदेशमा नेपालीले कम्पनी खोल्दा प्रक्रिया पूरा गरेका छन् कि छैनन् त्यो भने आफूले हेर्ने भनेपछि उनीहरु उठेर हिँडेका थिए ।
यसअघि ४५ प्रतिशत रहेको नेपाली संस्थापकको शेयर अहिले बढेर ५२.८५ प्रतिशत पुगेको छ । विदेशी लगानी १० प्रतिशतबाट झरेर २.१५ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको १० र सर्वसाधारणको ३५ प्रतिशत लगानी रहेको छ । पूर्व राजपरिवारका सदस्यको लगानीमा स्थापना भएको नेसनल लाइफ इन्स्योरेन्समा स्वदेशी र विदेशी दुवै संस्थापक लगानीकर्ता रहेका छन् ।

  बेलायती कम्पनी सिल्केडले १० प्रतिशत शेयर किनेको र पछि सो कम्पनी अमेरिकाले किनेर शेयर स्वामित्व पनि हस्तान्तरण भइसकेको छ ।
विदेशी कम्पनीको सो शयेर नेपालीले किनेको उजुरी बोर्डमा आएको र हालसम्म कम्पनीले शेयर बाँडफाँड नगरेकाले यसैको विवादमा कम्पनी मुछिएको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६५ करोड रहेको छ भने कम्पनीको स्थिर पुँजी ६४ करोड रहेको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

 

प्रतिक्रिया

सम्बन्धित