पौडेल र सिटौलालाई देखाउँदै यस कारण बैठक सारे कोइरालाले
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारीको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने भएपछि महामन्त्री डा. शशांक कोइरालाको अनुरोधमा बैठक स्थगित गरी २१ गते गर्ने निर्णय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
बिहान ८ः३० बजेका लागि डाकिएको बैठकका लागि सभापति शेरबहादुर देउवासहित महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा प्रकाशशरण महत लगायत नेताहरु पार्टी कार्यालय बीपीनगर सानेपा पुगेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे बैठक बोलाएका थिए।महामन्त्री कोइरालाले पार्टी सभापति देउवालाई भेटेरै बैठकको मिति पछि सारेर सहमति खोज्न आग्रह गरेपछि बैठक स्थगित भएको हो ।
सभापति देउवाले विधानको प्रावधान संशोधन नगरी विधान र सहमति विपरित पदाधिकारी मनोनयन गर्न लागेको भन्दै बैठक बहिष्कार गरेको नेता पौडेलले बताएका थिए। कांग्रेस विधान अनुसार २ महिना भित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन २ बर्ष सम्म हुन सकेको छैन। अघिल्ला कार्यकालमा पनि यही परम्परा भएको सभापति देउवाको दाबी छ।
प्रतिक्रिया