८८ सुन किलो सुनकाण्डका अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन काण्डको छानविन प्रक्रियाले बजार तातिरहेका बेला ८८ किलो सुनकाण्डमा पक्राउ परेका दुई अभियुक्तलाई भने सर्वोच्चले धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले नन्दकुमार पाण्डुरंग मगरले र उल्लास दिनकर सालुङ्खेलाई जनही ५ लाख धरौटीमा छाड्न भनेको हो ।
दुबैले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।
दुबैले प्रतिवादी गणेशदत्त वडूसँग पटक–पटक फोन सम्पर्क भएको देखिए पनि सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको र सुन कारोबार गरेको अभियोग लागेका दत्त र सत्यनारायण अग्रवाल धरौटीमा छुटेकाले उनीहरुलाई पनि धरौटीमा छाड्न भनेको हो ।
महानगरीय अपराध महाशाखाले १९ भदौमा तस्करीको अबैध ८८ केजी सुन बरामद गरेको थियो । भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको उक्त परिमाणको सुन राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको थियो । प्रहरीले सुन वरामद गरे पनि सुनका असली मालिक भने अझै फरार छन् ।
प्रतिक्रिया