एक अर्ब २३ करोड एपेक्स बैंक घैटाला काण्डमा १४८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । तत्कालीन एपेक्स बैंक घोटालाको दुई महिना लामो अनुसन्धान पूरा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले घोटालाको अनुसन्धान सकेको जनाएको हो । व्यूरोले सरकारी वकिल कार्यालयमार्फत १४८ जनाभन्दा बढी विरुद्ध उच्च पाटन अदालतमा बैकिङ कसुर मुद्दा दर्ता गराएको हो। १४८ जनाको नाम ठेगाना यकिन भए पनि अन्य केहीको नाम ठेगाना यकिन भएको छैन।
दुई महिनाको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत बुझाइएको व्यूरोका एसपी बुद्धि तामाङले बताए। एक अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा दर्ता भएको हो। व्यूरोले घोटाला प्रकरणमा २१ जनालाई पक्राउ गर्ने सफल भएको छ। बाँकी १३७ जना अझै फरार रहेका छन्। तत्कालीन बैकका सिइओ गोविन्द उपाध्याय अझै फरार नै रहेका छन्। उनीहरूले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ बराबरको आर्थिक अनियमिता गरेको देखिएको हो।
प्रतिवादीहरूमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत रहेका छन्।
उनीहरूले २०७२ साल कार्तिकमा एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसीमा मर्ज हुनुभन्दा अगाडि घोटाला गरेको देखिएको हो। उनीहरूले काठमाडौँ, ललितपुर, भक्तपुर, इटहरी, सुर्खेत लगायतका स्थानमा रहेका खोला छेउका जग्गा, पाखोबारी कमसल जग्गालाई महँगो मूल्यमा भ्यालुयसन गरी ऋण दिएको फेला परेको हो।
प्रतिक्रिया