उपेन्द्रको फोरम फुटाउन मुख्यमन्त्री सक्रिय

upendra-yadav

 काठमाडौं । नेकपा एमालेको सूर्य चिन्हबाट कुनै बेला निर्वाचनमा प्रतिस्पर्धा गरेर नराम्रोसँग पराजय भोगेका उपेन्द्र यादव अहिले फेरि पुरानै पार्टीमा फिर्ता हुने चर्चा चलेको छ । एमालेमा रहँदा सधै मधेसी भनेर पेलानमा परेका यादव अहिले फेरि केपी ओलीलाई मसिहा ठानेर पूजा गर्दै छन् । एमालेभित्रको पेलान सहन नसकेर प्रचण्डको माओवादीमा प्रवेश गरेर कम्युनिस्ट आन्दोलन गरेका यादव मधेसी जनअधिकार फोरम हुँदै संघीय समाजवादी पार्टी बनाउन पुगे । उनको अहिले उचाईँ बढेको छ । तर, त्यो उचाइँलाई यादवले भुल्दै गएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । 

 नेकपा भन्ने कम्युनिस्ट पार्टीको पेलान र घृणाबाट जन्मिएको मधेसी दल संघीय समाजवादी फोरम नेपाललाई अहिले नेकपामा विलय गराउन सक्रिय भएका छन् । एक मधेशी नेताका अनुसार यादवले के भुल्नु हुँदैन भने मधेसी जनताले नै उनलाई यो स्थान दिएका हुन् । ‘निर्वाचनका बेला मतदाता समक्ष यादवले के बाचा गरेका थिए ? त्यसलाई यति छिटो मन्त्री पदसँग भुल्नु उपयुक्त हुन्छ ?’ ति नेता प्रश्न गर्छन् ।
सप्तरी जिल्लाका मतदाता मात्रै होइनन् संघीय फोरमका उम्मेदवारहरूलाई मतदान गर्ने मतदाताहरूले अध्यक्ष यादवको कम्युनिस्ट त्यसमा पनि ओली र प्रचण्डप्रतिको वफादारीप्रति प्रश्न उठाएका छन् । यादवले यति छिटै मधेसी जनतालाई लात हानेर ओली र प्रचण्डप्रति बफादारी गर्छन् भन्ने कुनै पनि मधेसीले सोचेको थिएन ।

 तर, अध्यक्ष यादवले सबैलाई चकित तुल्याउँदै संघीय फोरमलाई नेकपामा विलयको तयारी गरेका छन् । राजेन्द्र श्रेष्ठलाई पहाडी भएकै बहानामा यादवले मन्त्री बन्न दिएनन् । पार्टीभित्र समावेशिताको सिद्धान्त लागू गरेको ढोङ गर्ने यादवले श्रेष्ठमाथि यति ठूलो अन्याय गर्न मिल्छ ? यो विषयमा अशोक राईहरूले आवाज उठाउन पर्दैन ? के संघीय समाजवादी फोरममा लागेका अरु नेता र सांसदले अवसर पाउनु पर्दैन ।
यहि कारण अब बल्ल अध्यक्ष यादवको असली चरित्र उदाङ्गो हुँदै गएको छ । यादवले अब मधेसमा मुख देखाउनै नसक्ने गरेर नाङ्गिन लागेको बताउन थालिएको छ ।

 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादबले केन्द्रीय सरकारमा सहभागी हुन प्रधानमन्त्री केपी ओलीसँग प्रदेश २ को सरकार गिराउने सहमति गरेसँगै पार्टीभित्र बिद्रोह शुरु भएको छ ।
प्रदेश २ को सरकार गिर्नबाट जोगाउन मुख्यमन्त्री लालबाबु राउतले भित्रभित्रै ठूलो अभियान चलाएका छन् । स्रोतका अनुसार मुख्यमन्त्री राउतले प्रदेश २ को सरकार गिर्नबाट जोगाउन संघीय समाजवादी फोरम नेपाल फुटाउनेसम्मको योजना बनाएका छन् । राउतले पार्टी विभाजन गर्न आवश्यक पर्ने संख्याभन्दा धेरै अर्थात झण्डै १५ जना प्रदेश सांसद आफ्नो पक्षमा बनाएका छन् । ‘कम्युनिस्टहरूसँग मिलेर प्रदेश २ मा सरकार बन्दैन’, स्रोतले भन्यो,‘लालबाबु राउतजीले कांग्रेस र राजपा नेपालसँग मिलेर भए पनि आफ्नो सरकार टिकाउने योजना बनाउनुभएको छ ।’ 

यसअघि रौतहटमा मंगलबार आयोजित कार्यक्रममा पनि मुख्यमन्त्री राउतले प्रदेश २ को सरकार नढल्ने बताएका थिए । उनले राजपा र संघीय फोरमको गठबन्धन पनि नटुट्ने बताएका थिए । मुख्यमन्त्री राउतले बिद्रोह गर्ने चाल पाएपछि संघीय फोरमका अध्यक्ष यादब तनावमा परेका छन् । उनले आफू निकटका नेताहरूसँग भेट गरेर राउतलाई सम्झाइदिन दवाव दिएको एक नेताले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित