हिमालयन बैंकलाई राष्ट्र बैंकको अंकुश

himalayan bank

 काठमाडौं । कर्जा प्रवाह र जग्गा खरिदमा विवाद नै विवादमा फसेको हिमालयन बैंकलाई राष्ट्र बैंकले अंकुश लगाउने तयारी गरेको छ । राष्ट्र बैंकले शेयर स्वामित्वका आधारमा सञ्चालन समितिको व्यवस्था गर्न निर्देशन दिएसँगै बैंकभित्र लफडा बढेको छ । आइतबार राष्ट्र बैंकको पत्र आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शेयरधनीका आधारमा सञ्चालक समिति गठन गर्ने प्रक्रिया शुरु गरेका छन् ।

 शेयरधनीका आधारमा संस्थापकबाट ५ जना, एक जना स्वतन्त्र र एक जना साधारण शेयरबाट सञ्चालक समिति चयन गर्न उनी लागि परेका छन् । हिमालय बैंकमा ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत सर्वसाधारणको शेयर रहेको छ । अध्यक्ष मनोजबहादुर श्रेष्ठ र कार्यकारी अधिकृत राणाबीच लामो समयदेखि विवाद चल्दै आएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

 नयाँ सञ्चालक समिति गठन गर्दा आफ्नो बर्चस्व कम हुने भएपछि श्रेठले मानेका थिएनन् । तर, राष्ट्र बैंकको पत्र आएसँगै उनी आत्तिएका छन् । हिमालयन बैंकको संस्थापकमा हबिब बैंक पाकिस्तान, मनोजबहादुर श्रेष्ठ समूह, अशोक राणा समूह तथा खेतान समूहको शेयर रहेको छ । ८५ प्रतिशत संस्थापक शेयरका हिसाबमा सञ्चालक चयन गर्दा हालका अध्यक्ष मनोजबहादुर श्रेष्ठ समूहको प्रतिनिधित्व घट्छ । सोही कारण बैंकको बोनस शेयर र चुक्ता पुँजी स्वीकृत हुन समेत सकिरहेको छैन ।

 शेयरधनीका आधारमा सञ्चालक समिति गठन नगर्दा पुसमा साधरणसभा सम्पन्न भए पनि अहिलेसम्म लगानीकर्ताले बोनस शेयर पाउन सकेका छैनन् । जसका कारण बैंकका १७ हजार लगानीकर्ता समेत प्रभावित भएका छन् । बैंकमा देखिएको विवादका कारण साधारणसभाबाट पारित भएको बोनस शेयर पनि चुक्ता पूँजीमा सूचीकृत हुन सकेको छैन । बैंकको गत पुस २८ गते बसेको साधारणसभाले २५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेर चुक्ता पूँजी ८ अर्ब पु-याएको छ ।  यस अघि बैंकको एटीएम घोटलामा मुछिएका अनिशभक्त सुवाल नामका कर्मचारीलाई जोगाउन खोज्दा पनि श्रेष्ठ र राणाबीच ठूलो विवाद भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित