चितवनमा प्रहरी र विप्लवका कार्यकर्ताबीच झडप

Biplab

   चितवन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा चितवनमा एक प्रहरी जवान घाइते भएका छन् ।नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।धोबीको टाउकामा चोट लागेको आचार्यले बताए ।

सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताए । प्रजिअ जितेन्द्र बस्नेतले बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताए । - रासस

प्रतिक्रिया

सम्बन्धित