शक्तिशाली नेताहरुलाई कब्जामा ल्याउँदै ओली
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले पार्टी एकीकरण भइसक्दा पनि त्यसको अनुभूति पाउन नसकेको भनेर टिप्पणी गर्न थालेका छन् । आफ्ना नेतालाई मात्रै पद दिएपछि असन्तुष्टिका स्वरहरू आउन थालेका हुन् । नेकपाका अध्यक्ष केपी ओलीले विरोधीहरूलाई छानीछानी पाखा लगाएपछि त्यसको साइड इफेक्ट देखिन थालेको छ ।
माधव नेपाल र झलनाथ खनाल समूहलाई ओलीले भित्तैमा पु-याएको आरोप छ । यद्यपि, ओलीले नेपाल समूहलाई केही स्थान दिएर थामथुम पारेर राखेका छन् । झलनाथ खनालको समूह भने नेकपाको केन्द्रीय कमिटीमा शून्य सरह छ । असन्तुष्ट बनेका भीम रावलले पनि आफ्ना थोरै नेताहरूलाई व्यवस्थापन गर्न भ्याएका छन् । ईश्वर पोखरेल यो मामिलामा पछाडि परेका छन् । महासचिव पद फुत्किएपछि पोखरेल निराश छन् ।
प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेल पनि ओलीको क्याम्पबाट बाहिरिएका छन् । ओलीले पोखरेललाई केन्द्रीय सदस्य मात्रै बनाएका छन् । मुख्यमन्त्री पोखरेलले काम गर्न नसकेको भन्दै ओली रिसाएका हुन् । पोखरेलको निवास कोटेश्वरमा पनि सुनसान हुने गरेको छ ।
तत्कालीन माओवादीका नेता जनार्दन शर्मापनि भित्रभित्रै गुट निर्माणमा लागेका छन् । प्रदेश ५ र ६ को भ्रमणमा निस्किएका शर्माले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह छाड्ने योजना बनाएका छन् । ओलीको विश्वासपात्र बनेका शर्मालाई ओलीले विशेष भूमिका दिएर आफ्नो गुटमा भित्र्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार ओलीले शर्मालाई केही महिनापछि मन्त्री बनाउने आश्वासन दिएका छन् । शर्माले गृहमन्त्री बन्ने आकांक्षा राखेका छन् ।
वर्षमान पुन, कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठले पनि पार्टीभित्र राम्रो पकड बनाउने प्रयासमा छन् । तर, यी तीन नेतामध्ये वर्षमान पुन अगाडि देखिएका छन् । महरालाई ओलीले रुचाएका छैनन् । ओलीले श्रेष्ठलाई पनि केही टाढा राखेको स्रोतको भनाई छ । वरिष्ठ नेता नेपालसँग निकट भएपछि ओली नेता श्रेष्ठसँग सशंकित बनेका हुन् । नेपाल र श्रेष्ठसँगै विदेश भ्रमणमा गएका थिए । उनीहरू पछिल्लो समय नजिकएका छन् ।
जिल्ला अध्यक्षहरू पनि ओली र प्रचण्डले भाग लगाएर लिँदै छन् । नेपाल र खनाल निकट मानिने अध्यक्षहरूलाई ओलीले प्रचण्डको समूहमा विलय गराउने योजना बनाएका छन् । ‘ओलीजीले नेपाल–खनाल समूहका अध्यक्षहरूलाई पदच्युत गर्ने योजना बनाउनुभएको छ’, स्रोतले भन्यो, ‘ती स्थानमा प्रचण्डले आफ्ना मान्छेलाई अध्यक्ष बनाउनु हुनेछ ।’ प्रचण्डले पनि आफ्ना विरोधी जिल्ला अध्यक्षहरूलाई तह लगाउने भएका छन् । प्रचण्डले विरोधी अध्यक्ष भएका जिल्ला ओलीलाई दिनेछन् ।(यूनाइटेड पोस्ट साप्ताहिक )
प्रतिक्रिया