कांग्रेसको भूमिका रचनात्मक
ढिलै भए पनि नेपाली कांग्रेसले केही दिन यता प्रतिपक्षीको रचनात्मक भूमिका निर्वाह गरेर राम्रो कामको शुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनसनको वेवास्ता देखि सार्वजनिक स्थानमा सभा समारोह गर्न नपाउने मनपरी निर्णय गरेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको छ ।
कांग्रेसले सरकारविरुद्ध घोषणा गरेको संघर्षलाई निर्णायक तहमा पु¥याउँछ वा यत्तिकै छाड्छ, त्यो भने हेर्न बाँकी छ । दुई तिहाई बहुमतको सरकारको दम्भ ओलीमा रहेसम्म कांग्रेसले सडक र सदन छाड्न नहुने कांग्रेसबाट आवाज उठिरहेको छ । तर, कांग्रेसले आफ्ना भातृसंस्थाहरूलाई क्रियाशील बनाउन नसक्दा आन्दोलन क्षणीक आवेशका रुपमा देखा पर्ने अवस्था पनि छ ।
ओलीले कांग्रेसलाई संख्यामा सानो दल भनेर जसरी हेप्ने प्रयास गरेका छन्, त्यसले उनलाई नै बेफाइदा पुग्न लागेको छ । कांग्रेसलाई हेप्ने चेस्टाले गर्दा ओली सरकार घेराबन्दीमा परेको छ । कांग्रेसबाट मात्रै होइन ओली आफ्नै दल नेकपाबाट पनि घेराबन्दीमा परेको छ ।
ओलीले नेकपाका आन्तरिक बैठकहरूमा सरकारको बचाउ गर्नु प¥यो भनेर आलापविलाप गर्ने गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारको बचाउ गर्न छाडेका छन् । प्रचण्डसहितका समाचारमा बिक्ने नेताहरू सरकारका पक्षमा खुलेर नबोलेपछि ओली एक्लिएका हुन् ।
कांग्रेसले यही मौकामा आफूलाई सशक्त रुपमा परिचालन गरी सरकारका गलत कुराको भण्डाफोर गर्न सक्नु पर्छ । संविधान र नागरिक स्वतन्त्रताको रक्षा गर्नुपर्छ । कांग्रेसले एजेण्डलाई सहि रुपमा उठाउने हो भने जनताको समर्थन रहनेछ । कांग्रेस आफूलाई पनि सम्हाल्नुपर्नेछ । सरकारविरुद्ध कांग्रेसले पहिलो पटक आन्दोलन घोषणा गरेपछि धेरैमा आश र अन्यौल दुबै जागेको छ ।
आन्दोलनबाट कांग्रेसले आफ्नो एजेण्डालाई स्थापित गर्न सकेको खण्डमा सरकारको मनपरि निर्णयहरु कार्यान्वयन हुँदैनन् ।
प्रतिक्रिया