आन्दोलन बढ्दै गए सरकार ढल्न सक्छ : मानवअधिकारकर्मी कृष्ण पहाडी
काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको मागमा समर्थन जनाउँदै अधिकारकर्मी र सामाजिक अभियन्ताले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकाले । र्यालीमा केही राजनीतिक दलका नेतासमेत सहभागी थिए । उनीहरूले बानेश्वरमा कार्यक्रम गरेर सरकारको आलोचना पनि गरे ।
मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, लेखक खगेन्द्र संग्रौला, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, अभिनेत्री तथा नेत्री करिस्मा मानन्धर, अभिनेत्री मनीषा कोइरालालगायत कार्यक्रममा उपस्थित थिए । मानवअधिकारकर्मी कृष्ण पहाडीले केपी शर्मा ओलीको सरकार यसपटक इतिहासकै बदनाम भएको वताएका छन् । उनले भनेका छन् - 'यो सरकारले वैधानिक रूपमा दुईतिहाइ मत पाए पनि पछिल्लो गतिविधिले ओली सरकार सबैभन्दा बदनाम देखिएको छ ।
यो लोकतन्त्रविरोधी सरकार हो । जहिले पनि प्रतिपक्षलाई सभामुख वा उपसभामुखमध्ये एक पद राखिन्छ, तर यो सरकारले संविधानविपरीत सभामुख र उपसभामुख नेकपा एक्लैले राखेको छ । सर्वोच्च अदालतले दोषी ठहर गरेका अपराधीलाई कानुनविपरीत छाडेर सरकारले विधिको शासनको बर्खिलाप गरेको छ । यो आन्दोलन बढ्दै गए सत्तासमेत परिवर्तन हुन सक्छ । (नयाँ पत्रीका )
प्रतिक्रिया