फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य ४ रुपैयाँ ५ पैसाले बढाइएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १११, डिजेल र मट्टीतेल ९५/९५ र हवाई इज्धन १०४.५ रुपैयाँ हुने भएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढाइएको छैन ।
भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा भएपनि डिजेल र मट्टीतेलतमा भने ७० पैसा घाटा छ । मूल्य बढाउँदा पनि नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो पर्न आउँछ । निगमले मूल्य समायोजनपछि पनि प्रतिमहिनामा १४ करोड ४२ लाख घाटा रहेको जनाएको छ।
प्रतिक्रिया