निर्मला बलात्कार र हत्या प्रकरण : मानसिक सन्तुलन गुमेकालाई सार्वजनिक गरेपछि झन् चर्कियो आन्दोलन, प्रहरीद्धारा अश्रु ग्यास प्रहार
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलित बनेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका ४१ वर्षीया दीलिपसिंह विष्टलाई बलात्कारपछि हत्या आरोपमा सार्वजनिक गरेको थियो ।
प्रहरीले विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
स्थानीयले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै मंगलबार बिहानैदेखि स्वतस्फूर्त रुपमा बजार बन्द गराएका छन्। नगर क्षेत्रका व्यापारी, विद्यार्थी र सर्वसाधारण सबै आन्दोलनमा उत्रिएका छन्। उनीहरुले यातायात पनि बन्द गराएका छन्।
आइतबारदेखि अपराधी पत्ता लगाउनुपर्ने माग सहित नागरिक समाजका अगुवाहरुले सुरु गरेको रिले अनसन पनि जारी छ। गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोली कन्चनपुर पुगेको थियो ।
प्रतिक्रिया