निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् ।
प्रहरीले वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। बिहिबार दिउँसो प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० राउन्ड गोली हानेको थियो। गोली लागि ३ जना गम्भीर घाइते भएका छन् भने थप १० जना सामान्य घाइते छन्।
आक्रोशित समूहले ट्राफिक जिल्ला प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको थियो। गोली लागेर गम्भीर घाइते भएका तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।
स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो। झन्डै महिना दिन लामो अनुसन्धानपछि प्रहरीले भदौ ४ गते ४१ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्त भनेर सार्वजनिक गरेको थियो।
गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् । बैठकले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत परिर्वतन गरेको छ ।
पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।
प्रतिक्रिया