अस्ट्रेलियाका नयाँ प्रधानमन्त्रीमा स्कट मोरिसन
काठमाडौं । सत्तारुढ लिबरल पार्टीभित्र चलेको शक्ति संघर्षका कारण अस्ट्रेलियाका प्रधानमन्त्री माल्कन टर्नबुलले हार व्यहोर्नु परेको छ । अबको नयाँ प्रधानमन्त्रीमा अनुदारवादी नेता स्कट मोरिसन आएका छन् ।
प्रधानमन्त्री टर्नबुलले पछिल्ला दिनमा पार्टीभित्र व्यापक विरोधको सामना गर्नुपरिरहेको थियो। सोही कारण पार्टीको आन्तरिक निर्वाचनमा उनको गुट पराजित भएको हो। एक दशकमा टर्नबुल त्यस्ता चौथा प्रधानमन्त्री हुन्, जो पार्टीको आन्तरिक शक्ति संघर्षका कारण सत्ताबाट बाहिरिनु परेको छ। उनका केही मन्त्रीले पनि राजिनामा बुझाइसकेका छन्। सत्तारुढ दलका केही सांसदले एक पत्रमा हस्ताक्षर गरेर पार्टी नेतृत्वमा मतदानका लागि बाध्य बनाएका थिए।
३० औं प्रधानमन्त्री बनेका मोरिसन ‘टुरिजम अस्ट्रेलिया’का पूर्वप्रबन्ध निर्देशक हुन्। अध्यागमन र सामाजिक सेवाजस्ता मन्त्रालयमा मन्त्री रहिसकेका छन्। विदेश मन्त्री जुली बिसप पनि प्रधानमन्त्रीको दौडमा थिइन्। तर, उनी असफल भइन्। अस्ट्रेलियाको राजनीति लामो समयदेखि उथलपुथलबाट गुज्रिरहेको छ। पछिल्ला धेरै प्रधानमन्त्रीले आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्। –बिबिसी
प्रतिक्रिया