असुरक्षित नेपाली आकाश : नहुनुपर्ने परिस्थितिमा पनि कतिपय दुर्घटना
काठमाडौं । पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए ।
सन् २०१८ हवाई सुरक्षाका दृष्टिकोणबाट असुरक्षित बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू यसलाई सेवामा भएको बढोत्तरीसँगै दुर्घटनाको दर पनि बढेको बताउँछन् । प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘नेपालमा हवाई सेवा संख्यात्मक रूपमा उल्लेख्य बढेको छ, त्यसकारण समग्र हवाई सुरक्षामा सुधार भइरहँदा पनि दुर्घटनाको दर बढेको हो ।’
नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासीन बन्दा उस्तै प्रकृतिका दुर्घटना दोहोरिने गरेका छन् । प्राधिकरणकै एक अधिकारी भन्छन्, ‘कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता, स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् । कम्पनीका कमजोरी सार्वजनिक हुन पाउँदैनन् । त्यसकारण एउटै प्रकृतिको दुर्घटना पटक–पटक हुन्छन् ।’
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले गम्भीर हुनुपर्ने वेला भएको बताए । मन्त्रालयको तर्फबाट अनुसन्धान र नियमनमा कुनै कमी नभएको दाबी पनि गरे । ‘कतिपय दुर्घटना नहुनुपर्ने परिस्थितिमा पनि भइरहेका छन्,’ उनले भने, ‘हामी गम्भीर भएर हेर्छौँ ।’ (नयाँ पत्रीका )
प्रतिक्रिया