आज भारत बन्द
काठमाडौं । नेपाल बन्द भन्दा सहजै पत्याउने हामी सबैलाई भारत बन्द भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, अहिले नेपाल बन्द नभएर भारत बन्द नै भएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा आज भारत बन्द भएको हो । कांग्रेस आईले गरेको भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ । कांग्रेस आईका अध्यक्ष राहुल गान्धी वरिष्ठ नेताहरुका साथमा दिल्लीमा विरोध प्रदर्शन गरिरहेका छन् । यसभन्दा अगाडि उनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि र्याली निकालेका थिए । राहुलका साथ प्रदर्शनमा उनकी आमा सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, एनसीपी प्रमुख शरद पवारलगायत छन् ।
बिहारमा जनअधिकार पार्टीका कार्यकर्ताहरुले ट्रेन तथा सडकमा चलिरहेका सवारी साधनमा तोडफोड गरेका थिए । आन्ध्रप्रदेशको विशाखापट्नममा सडक जाम गरेर प्रदर्शन भइरहेको छ । गुजरातमा सडकबीच टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।
कांग्रेसका अनुसार सरकारको नीतिविरुद्धमा आह्वान गरिएको बन्दमा देशभरका २० विपक्षी पार्टी र कैयौं व्यापारिक संगठनले समर्थन गरिरहेका छन् । तर, आम आद्मी पार्टी (आप) ले भने यो बन्दलाई समर्थन गरेको छैन ।
भारतमा इन्धनको मूल्य लगातार बढिरहेको छ । आइतबार दिल्लीमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च ८०.५० भारु पुग्यो डिजेल ७२.६१ प्रतिलिटर पुग्यो । यसैगरी मुम्बईमा पेट्रोलको ८७.८० र डिजेलको ७७.०९ पुगेको छ । डलरको तुलनामा भारुको मूल्य घट्नाले इन्धन महंगिएको हो । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य बढेको भन्दै यसलाई सरकारले नियन्त्रणमा राख्न नसक्ने बताएका छन् ।
प्रतिक्रिया