किन सेलायो कैलाश बैंकको ठगी प्रकरण ?
पोखरा । कैलाश विकास बैंक लामाचौर शाखाका प्रवन्धक रविचन्द्र खनाल फरार भएको डेढ वर्ष वितिसकेको छ । सेवाग्राहीको करोडौं रुपैया अपचलन गरेर योजनाबद्ध रुपमा फरार भएका खनालको बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले सुईको पाउन सकेको छैन । साथीभाईलाई विश्वासघात गरेर बैंक सिस्टममा नछिराई खनालले ठगि गरेका थिए ।
ठगि गरेको उक्त रकम खनालको घर घरानाबाट असुल भएको बैंक स्रोतले बताए पनि खनालको भने अत्तोपत्तो छैन । खनालले व्यक्तिगत रुपमा सापटी लिएर मिटर व्याज पैसा लगानी गरेका थिए । अमेरिका भासिएका वैंक डिफल्टर खनालको खोज तलासमा सिआईबीले कुनै चासो देखिएको छैन । बैंक डिफल्टर खनालले अपचलन गरेको रकम जो वैंकिङ सिस्टममा देखियो, त्यो मात्र असुल उपर गरियो । प्रहरीले पनि वैंक ठगिएको विषयमा मात्र चासो दियो । तर, करोडौं ठगिएको जनताको रकम फिर्ता गर्ने बारे खासै चासो दिएको छैन ।
सिआईबीले थालेको अनुसन्धान बीचमै तुहिएको छ । त्यसबेला सिआईबीले वैकिङ कसुरको मुद्दामा खनालको राहदानी रद्द गरेर इन्टरपोल मार्फत् नेपाल झिकाउने बताएको थियो । सिआईबीका तत्कालिन प्रमुख पुष्कर कार्कीले रेडकर्नर नोटिस जारी गरेर ठगि गिरोहका नाइकेलाई नेपाल झिकाउने बताएका थिए । सिआईबीको प्रारम्भिक अनुसन्धानमा ८ करोड बढी ठगि गरेका खनाल अमेरिका बस्दै आएको खुलेको थियो । नेपाल प्रहरीले चाह्यो भने जुनसुकै मुलुकमा रहेका अपराधीलाई पनि इन्टरपोलको सहायताले नेपाल भित्र्याउन सक्छ ।
तर, सिआइबीले आफ्नो कार्य योजना सफल बनाउन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धानमा ख्याती कमाएको सिआईबीका लागि कैलाश विकास बैंक ठगि प्रकरणका नाइके खनाललाई नेपाल ल्याउन नसक्नु लज्जाको विषय बनेको छ । सर्वसाधरणको लगानी रहेको कैलाश विकास वैंकको लागि पनि यो दुःखद र निर्लज्ज घटना बनेको छ ।
बैंक ठगेर फरार रहेका खनालको राहदानी रद्द गर्ने सिआईबीको दावी अहिले अर्थहिन बनेको छ । खनाल नेपालकै पासपोर्ट प्रयोग गरी अमेरिकाबाट बाहिरिएको र पुनः अमेरिकामै फर्किएको स्रोतले बतायो । तरपनि उनको राहदानी रद्द गरिएको छैन । अमेरिकामा नेपाली राजदुतावास सञ्चालनमा छ, कुटनीतिक प्रकृयावाट खनालको राहदानी रद्द गरेर उनलाई पक्राउ गरि नेपाल फर्काउन सकिन्छ । तर, सिआईबी भने मौन रहेको बुझिएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )
प्रतिक्रिया