मनोज पुनका तीन सहयोगी छुटे, समिरमानको समुह असुलीमा सक्रिय
रूपन्देही । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके मनोज पुनका तीन जना सहयोगीलाई उच्च अदालत तुलसीपुर बुटवलले तारेखमा छाड्न आदेश दिएको छ । देवदह ४ का लेखनाथ न्यौपाने, देवदह ५ का तुलसी न्यौपाने र बुटवल ४ का हरिप्रसाद श्रेष्ठ तारेखमा छुटेका हुन ।
अभियोग दाबी अनुसारको कसुरमा अनुसन्धानमै अस्वीकार गरेको र तत्काल प्राप्त प्रमाणबाट कसुरदार हो भन्ने मनासिव आधार नदेखिएपछि थुनामा राख्न नपर्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश कुमारप्रसाद पोखरेल र कृष्णकमल अधिकारीको संयुक्त इजलासको आदेशमा उल्लेख छ । अन्य तीन जना देवदह-६ का रोशन खडका, बुटवल उपमहानगर ७ का उत्तम आचार्य र बुटवलकै सुजु मल्ललाई भने जिल्लाको आदेश कानुनसम्मत नै देखिएकाले अर्को आदेश गर्नु नपर्ने उल्लेख छ ।
पुनले देवदहका व्यवसायी वसन्त पौडेल , युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या र बुटवलका व्यवसायीसँग चन्दा आतंक मच्याउँदै आएका थिए । पुनका पार्टनर एबम निर्माण व्यबसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका नाइके समिरमान बस्नेत भने हाल नक्खु कारागारमा छन् । समिरमान र पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरमान भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी प्रहरीले दाबी गरेको थियो ।
प्रहरीले सुरुदेखि नै समिरमान र मनोज एउटै समूहमा रहेर असुलीदेखि हत्यासम्मका घटनामा संलग्न रहेको दावी गर्दै आएको थियो । फिरौती असुलीका लागि समिरमान र मनोजले प्रयोग गर्ने व्यक्तिहरू एउटै थिए । तीमध्ये अधिकांश पक्राउ परेपनि दाबा लामा गोली काण्डदेखी गौचन हत्यामा सँलग्न रहेका लोप्साङ राई, सुटर अम्वरबहादुर राना, गंगा लिङ्देन र रोशन बुढाथोकी भने अझै फरार छन् । जेलभित्र रहेका समिरमानको निर्देशनमा उनीहरू अझै पनि असुलिमा सक्रिय रहेको बुझाई प्रहरीको छ ।
प्रतिक्रिया