सरकारको लाचारीपन र यातायात व्यवसायीको मनपरीले सर्वसाधरणलाई सास्ती
काटमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ । यसअघी आजबाट टिकट बुकिङ गर्ने सम्झौता भएकोमा महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो । तर, सरकारी निकायहरुले भने यो विषयलाई खासै महत्व दिएका छैनन् ।
नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।
आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले विहिबार बैठक बसेर शुक्रबार(आज) बाट गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले भने–‘चाडपर्व नजिकै आएकाले सरकारले पनि विचार गर्नुपथ्र्या। १५÷२० दिनको लागि किन मूल्यवृद्धि गरियो ? । पटक– पटक इन्धनको मूल्य बढ्दा गाडी चलाउने नसक्ने अवस्था आएको भन्दै महासंघले टिकट बुकिङ नै खुला नगर्ने निर्णय गरेको हो ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने टिकट बुकिङ हुने दाबी गरेका छन्। उनले भने–‘बुकिङ हुन्छ, यदी टिकट बुकिङ भएन भने वार्ता मार्फत समाधान गर्छौं ।’ यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले पनि दसैंको प्रि बुकिङ शुक्रबारबाटै खुल्ने दाबी गरे। तर, उनीहरुले अझै सम्म पनि व्यवसायीहरुसँग बार्ता चलाउने प्रयास भने गरेका छैनन् ।
विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्ता प्रतिनिधिसमेतको उपस्थितिमा भदौ ३१ गतेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने जनाएको थियो ।
प्रतिक्रिया