१०० वर्ष पुगेका राष्ट्रकविलाई घरमै पुगेर शुभकामना दिईन राष्ट्रपति भण्डारीले
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एक सय वर्ष पुगेका राष्ट्रकवि माधव घिमिरेलाई उनकै निवासमा पुगेर शुभकामना व्यक्त गरेकी छन् । उनलाई एकसयौं जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका छन् ।
राष्ट्रपति भण्डारीले आइतबार बिहान लैनचौरस्थित घिमिरे निवासमा पुगेर घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन । उनको सयौं जन्मोत्सवका अवसरमा परिवारले शनिबार साँझ बिशेष कार्यक्रम आयोजना गरेको थियो । उनको निवासमा जन्मदिनको शुभकामना दिनेहरुको भिड लागेको छ ।
१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे आइतबारबाट एक सय वर्षका भएका हुन् । शताब्दी वर्ष भएको उपलपक्ष्यमा राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका शुभेक्छुकहरुले शुभकामना दिएका छन् ।
स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरे बाल्यावस्थादेखी निरन्तर रुपमा लेखनमा सक्रिय थिए । नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा– उपविधाहरुमा उनले निरन्तर कलम चलाउदै आएका छन् ।
गौरी शोक काब्य उनको चर्चित कृति हो । राष्ट्रकवि घिमिरेका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी कविता संङग्रह चर्चित छन् । चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का ’फूलको थुङ्गा बगेर गयो’, ’आजै र राति के देखे सपना’ लगायत गीत कालजयी छन् ।
सय वर्षको उमेरमा समेत उनी अझै साहित्य लेखनमा सक्रिय छन् । कविवर घिमिरे अहिले ‘ऋतम्भरा’ महाकाव्य लेखनमा लागेका छन् ।
प्रतिक्रिया