चुनौतीको सामना गर्दै अगाडि बढ्न एआर्इजीहरुलाई आईजीपीको निर्देशन

igpsarbendran

 काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नीति विपरीतको कार्यमा संलग्न जोसुकै भएपनि कसुरको आधारमा कारबाहीको दायरामा ल्याइने वताएका छन् ।

 एआर्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरे लगत्तै आयोजित कार्यक्रममा बोल्दै आइजीपी खनालले सकारात्मक सोच, संगठनको नीति र कानूनसम्मत काम गर्नुपर्ने उल्लेख गर्दै नीति विपरीतको कार्यमा संलग्न भएको पाइएमा जोसुकै भएपनि कसुरको आधारमा कारबाहीको दायरामा ल्याइने वताएका हुन ।

 आइजीपी खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टीकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको राम्ररी प्रदर्शन गरी महत्वपूर्ण ढंगले काम गर्नुपर्ने वताए ।

 प्रहरी संगठनलाई उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको उल्लेख गर्दै आइजीपी खनालले यसका लागि संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिता प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नु पर्नेमा जोड दिएका थिए ।

 igpsar2

 पछिल्लो समय प्रशासनिक कामले नयाँ उचाई लिएको, लामो समय अवरुद्ध पदोनन्ति तथा सरुवा खुलाइएको, तालिम तथा यूएन मिसनलाई प्राथमिकतामा राखिएको, साधन स्रोत सम्पन्न बनाउन विशेष योजना र पारदर्शिताका साथ काम थालिएको चर्चा गर्दै आइजीपी खनालले संगठनलाई नयाँ उचाईमा पुर्‍याउन सबैले जिम्मेवारी बोध र असल आचरणका साथ अगाडि बढ्दै संगठन सुधारमा अतुलनीय योगदान प्रदान गर्ने विश्वास व्यक्त गरे ।

 गतिशिल संगठनमा कहिलेकाँही असमाञ्जस्यता देखा परे पनि थप सुधारका साथ निरन्तर अगाडि बढनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले चुनौतिको सामना गर्दै दृढताका साथ काम गर्न निर्देशन दिए ।
सो अबसरमा एआर्इजी पुष्कर कार्कीले पदोन्नतिको यस क्षणमा राष्ट्र, संगठन र नागरिकप्रति अझ बढी सेवा गर्ने उत्साह बढेको वताए । यसअघि आईजीपी खनालले बढुवा समितिले गरेको सिफारिसअनुसार एआइजीमा बढुवा भएका डिआइजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए  । 

प्रतिक्रिया

सम्बन्धित