पाइपलाइनको ५० प्रतिशत काम सम्पन्न

popeline

   हेटौंडा । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ। नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो।

रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम द्रुतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए।

नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए।


रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ।

सो आरक्षण क्षेत्रबाट करिब पाँच हजार ८ सय ८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ। पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ। २०१८ अप्रिलबाट पाइपलाइन बिछ्याउने काम सुरू भएको र अवरोध हटेकाले एक महिनामा पूरा हुने खनालको दाबी छ। पाइपलाइन बिछ्याउनका लागि नेपाल र भारतको २७५ करोड भारतीय रुपैयाँमा सो पाइपलाइन निर्माण भइरहेको छ।

भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको इस्टिमेटअनुसार काम भइरहेको हो। उता विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित