ओली नेतृत्वको सरकारले अब पिक अप लिन्छ : टोपबहादुर रायमाझी

Toop Bdr Rayamajhi
काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले सरकारले अब गति लिने कुरामा कसैलाई शंका नगर्न ध्यानआकर्र्षण गराएका थिए । कार्यक्रममा उनले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए ।  उनले भने - अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ । उनले सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले नआएको बताउँदै सरकारको कामको बारेमा आंशिक समिक्षा गर्न सकिने, तर पूर्ण समिक्षा गर्ने अवस्था अहिले नआएको बताए । यो सरकारसामू ठूला–ठूला अवसरहरु छन् । सरकारसँग दुई तिहाई बहुमत छ र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ- उनले बताए ।
मुलुक यतिवेला एउटा युगबाट अर्को युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने,‘हामी नयाँ युगमा प्रवेश गरेका छौं । तर, हाम्रो सोच र चिन्तन भने अझैपनि पूरानै छ ।विश्वका कुनैपनि देश रातारात समृद्ध नभएको सुनाउँदै उनले मुलुकको समृद्धिको लागि सबैले एक साथ आफ्ना कदमहरु अघि बढाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उनले सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको उनले स्पष्ट पारे । रायमाझीले भने,‘सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ । कुनै अवरोध छैन् । बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ । आलोचना र विरोध गर्न अझै पुगेको छैन् । सरकारलाई जागरुक गर्नुपर्ने, उठाउनुपर्ने विषय अझै जोडतोडका साथ उठाउनुपर्छ । प्रतिपक्षीको भूमिका अझै पुगेको छैन भन्ने मेरो ठम्याई छ। खाल्डाखुल्डीहरु त यो सरकार आउनुभन्दा पहिलापनि भएको उनले जिकिर गरे । उनले भने,‘यसअघिका सरकारको पालामा पनि खाल्डाखुल्डीहरु थिए । अब खाल्डाखुल्डीहरु क्रमशः पुर्ने काम अघि बढ्छ । एक वर्षभित्र सबै खाल्डाखुल्डीहरु पुरिन्छन् । ५ वर्षभित्र रेल आउने आधार बन्ने उनको भनाई छ । उनले भने,‘सडक सञ्जालमात्रै होईन, अब रेल सञ्जालले पनि नेपाललाई जोड्छ ।

फरक प्रसँगमा उनले नेकपाभित्रको एकता अब चाँडै सम्पन्न हुने पनि विश्वास दिलाए । उनले भने,‘पार्टी मुख्य कुरा विचार र नीतिले चलाउनुपर्छ । नेता केन्द्रित हुनुहुँदैन् । नेकपामा मात्रै होईन, सबै पार्टी नीति र विचारले चल्नुपर्छ ।’ उनले छठपछि जनवर्गीय र पेशागत संगठनहरुको एकता सम्पन्न हुने दाबी गरे । तर, पोलिटव्यूरो, प्रदेशस्तरीय र जिल्ला तहमा भने केही समय लाग्ने उनले जनाए ।दुई तिहाईको सरकारले मुलुकमा विकास र समृद्धि दिन्छ । यदि यो सरकार असफल भयो भने सिँगो राष्ट्र नै असफल हुन्छ । यो सरकारसँग हामीपनि जोडिएका छौं ।

 

 

प्रतिक्रिया

सम्बन्धित