नाफाजति भारतमा, सरकारको लगानी डुबाउने पुरस्कृत
काठमाडौं । सरकारी लगानी डुबाउन खोज्ने पाँचतारे होटल ह्यात रिजेन्सीलाई सरकारले पुरस्कृत गरेर नमूना प्रदर्शन गरेको छ । ह्यातले बर्षेनी २५ करोडभन्दा बढी नाफा कमाइरहेको छ । तर, होटलले आफ्ना मजदुरलाई तिर्नुपर्ने पैसा, होटल संघ नेपाल (हान) लाई तिर्नुपर्ने बार्षिक शुल्क तथा सेवा शुल्क बापत संकलनबाट तोकिएको शुल्क बर्षोसम्म तिरेको छैन ।
बर्षेनी २५ करोड भन्दा बढी नाफा गरिरहेको भएपनि होटलमा सरकारले गरेको लगानीको प्रतिफल भने सधै शून्य हुने गरेको छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीमा लगानी १७ करोड रुपैयाँ २ दशक अगाडि नै लगानी गरेको यो होटलले हालसम्म कुनै प्रतिफल दिन सकेको छैन । तर, विभागिय मन्त्रीहरुलाई सँधै प्रतिफल दिएकै भरमा पुरस्कृत हुँदै आएको छ ।
सरकारको ३९ प्रतिशत सेयर स्वामित्व रहेको यो होटलमा हाल सेयर घटेर ९ प्रतिशतमा झरेको छ । होटलमा भारतीय लगानीकर्ता राधेश्याम सर्राफसहित चार तहको सेयर संरचना रहेको छ । होटेलका सर्राफ र रामलाल श्रेष्ठसहितका सञ्चालक, तारागाँउ विकास समिति, सर्वसाधारण र विभिन्न वित्तीय संस्थाको ऋणलाई सेयरमा रहेको छ ।
होटलमा लगानी गरेका ७४ लाख कित्ता शेयरका धनी सर्वसाधारण हुन् । होटल स्थापना भएको २० वर्षसम्म पनि होटलले लाभ दिन सकेको छैन । तर, सञ्चालक तथा भारतीय लगानीकर्ताले मात्रै अधिक मुनाफा र लाभ लिइरहेका छन् ।
२०४९ सालमा होटल स्थापना अघि भएको सम्झौताअनुसार ह्यातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड र निजी साझेदार (राधेश्याम सर्राफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी रहेको उल्लेख छ ।
कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो । अहिले होटलको सेयर संरचना पटकपटक परिवर्तन भइसको छ । होटलले पछिल्लो विवरणमा बैंक तथा वित्तीय संस्थाको सेयर ५४.७३ प्रतिशत देखाएको भए पनि यो सेयर सबै सर्राफसहितको टोलीले खरिद गरिसकेको उल्लेख छ । यसरी सरकारलाई शुन्य प्रतिफल दिने तर नाफा जति सबै भारत लैजाने होटललाई सरकारले नै बढी कर तिर्ने होटलको सूचीमा राखेर पुरस्कार दिंदै आएको छ ।
प्रतिक्रिया