बेहोश बनाएर काठमाडौं ल्याइयो निर्मलाका बाबुलाई

nirmala buba

   धनगढी । छोरीका हत्यारालाई कारवाहीको माग राख्दै धर्ना बस्दै आएका कञ्चनपुरका यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याईदै छ । छोरीको हत्याका कारण मानसिक सन्तुलन बिग्रेपछि उनका उपचारका लागि धनगढी पुर्याइए पनि त्यहाँ उपचार सम्भव नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा उनलाई शनिबार राति निजी गाडीमा सुरक्षाकर्मी सहित काठमाडौं ल्याइएको हो ।

साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मलाका आफन्त र परिवार जिल्ला प्रशासन अगाडी धर्नामा बस्दै आएको थियो । ‘उहाँ(पन्त)को असामान्य व्यवहार देखाएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।’ पन्त पारिवारिक स्रोतले भन्यो ।

धर्नामै रहेका निर्मला पन्तका बुवा यज्ञराजको मानसिक अवस्था बिग्रदै गएपछि उपचारका लागि काठमाडौं लैजान शनिबार धनगढी विमान स्थल पुर्याए पनि उनको असामान्य ब्यबहारका कारण विमान मार्फत लैजान नसकिए पछि उनलाई धनगढी स्थित सेती अञ्चल अस्पतालमा ल्याइएको थियो ।

एक्कासी रुने, हाँस्ने, बर्वराउने, गाली गलौज गर्ने र ढुङगामुडा गर्न थालेपछि विमान मार्फत उनलाई काठमाडौँ लैजाने नसकिएको हो । सेती अञ्चल अस्पताल ल्याएर यज्ञराजलाई शनिवार राति १०ः३० बजे सुरक्षाकर्मी सहित काठमाडौं पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

आफन्त र यज्ञराज लाई प्रहरी सहायक निरीक्षक दिपक धामीको नेतृत्वमा ३ जना प्रहरी सहित काठमाडौं पठाइएको हो । सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि यज्ञराजसंगै स्वास्थ्य कर्मी सुनिल वि.क लाई पनि उनीसंगै पठाइएको छ ।

निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित