हात्ती आक्रमणमा मृत्यु भएकाको परिवारप्रति अध्यक्ष दाहालको चासो
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको बारेमा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् । हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु भएपछि माडीवासी बिहीबार बिहानैबाट आन्दोलित भएका थिए । विहिबार नै वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो ।
अध्यक्ष दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिएका हुन् । प्रजिअ बस्नेतका अनुसार अध्यक्ष दाहालले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाएका छन् ।
माडीबासीसँग भएको सहमतिमा पीडित पक्षलाई तत्काल माडी नगरपालिकाबाट किरिया खर्चबापत २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महीनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महीनाभित्र उपलब्ध गराउने, हात्तीलाई तत्काल बस्ती प्रवेश गर्न रोक लगार्इ नियन्त्रणमा राख्ने सहमति भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको टेलिफोनपछि प्रमुख जिल्ला अधिकारी बस्नेत आफै वार्तामा सहभागी हुन माडी पुगेका थिए ।
बुधबार दिउँसो रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीयबासी ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया कृष्णकली जैसी पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
सहमतिमा मृतक भण्डारीका दुई छोरालाई शिक्षाका लागि माडी नगरपालिकाले पाँच लाख व्यवस्था गर्ने, अर्की मृतक पौडेलका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने सहमति भएको छ ।
यसैबीच निकुञ्जले हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको टोली परिचालन गरेको छ । आठजना प्राविधिकसहित २० जना सुरक्षाकर्मी परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
प्रतिक्रिया