महिलाहरूलाई 'डीजे' बन्न कति सहज ?

  12

काठमाडाैं ।  हिजोआज युवतीहरूले पनि गीत–सङ्गीत बजाउने र मिसाउने डिस्क जकी अर्थात डीजेको पेसा अङ्गाल्न थालेका छन्।तर, नेपालमा महिला डीजे बन्न सहज नभएको केही युवतीहरूले बताएका छन्। डीजे क्वीन, भनेर चिनिने शालु महर्जनले काम गर्न थालेको तीन वर्ष बितिसक्दा पनि आफ्नो कामबारे गर्वका साथ छरछिमेकमा चर्चा समेत गरेकी छैनन्।

त्यसो त छोरीले अरू नै कुनै काम गरे हुन्थ्यो भनेर आमाले पनि समय–समयमा भन्न नछाडेको उनी बताउँछिन्। यो पेसा सुरू गर्दा यस्तै समस्या परेको बताउँछिन् डीजे नानी, अर्थात सुष्मिता महर्जन, उहाँहरूलाई म राति काम गर्न गएको मन परेको थिएन। त्यसैले यो पेसामा लागेर केही उपलब्धि हुँदैन बरु पढाइमा ध्यान दिए हुन्थ्यो भन्नुहुन्थ्यो।

आफ्नो रुचिलाई नै पेसा बनाउन सुरूमा घरपरिवारमै सङ्घर्ष गर्नुपरेको डीजे ग्यालू अर्थात् मोनिका त्वनावासुको पनि लगभग उस्तै अनुभव छ। उनी भन्छिन्, सुरुमा मलाई मेरा अभिभावकहरूलाई मनाउन एकदम कठिन भएको थियो।

सधैँ राति जान्छौ भन्नुहुन्थ्यो तर एकदिम मैले मेरो बुवालाई क्लब लिएर गएँ र मैँले गर्ने काम देखाएँ त्यसपछि उहाँहरुले कचकच गर्न छाड्नुभयो । मनोरञ्जन प्रदान गर्ने सहरका क्लबमा बजाउने र नाच्ने काममा पुरुषकै हालिमुहाली रहँदै आएकोमा बिस्तारै महिला डीजेहरूले स्थान बनाउँदै गएका छन् । तर अझैपनि महिलाहरूको सङ्ख्या न्यून नै रहेको उनीहरू बताउँछन्।

गीत–सङ्गीत बजाउने काममा पुरुषहरूको बाहुल्यता रहेको पेसा भएको यी महिला डीजेहरू स्वीकार्छन्। यस्तै क्लबमा आउने पनि महिलाको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको उनीहरू बताउँछन्। तरपनि क्लब सञ्चालन गर्ने र त्यहाँ आउनेहरू चाहिँ अझै पनि धेरै पुरुष नै हुने गरेका छन्।

त्यस्तोमा आफ्नो सुरक्षाप्रति चनाखो हुनुपर्ने डीजे ग्याल बताउँछिन्, म जहिले पनि डीजेलाई कस्तो सुरक्षा दिनुभएको छ भनेर सोध्दछु अनिमात्र अरु कुरा अघि बढाउँछु। नीकै चनाखो भएर काम गर्नुपर्छ, उनले भनिन्। प्रायः मानिसहरूले फोन नम्बर मागेर हैरान पार्ने उनीहरु बताउँछन्।

विद्यालयमा पढ्दादेखि नै यो पेसाप्रति आकर्षित भएको उनीहरू बताउँछन् । धेरैले त उच्च माध्यमिक शिक्षा हासिल गर्दासम्म काम नै सुरु गरिसेको बताए। त्यस्तैमध्येकी एक डीजे क्वीनको नामले क्लबहरूमा चिनिने २१ वर्षीय शालु महर्जन भन्छिन्, १२ कक्षा पढिसक्दा बित्तिकै मैले डीजेको तालिम लिएँ। जसमा गीतहरू मिसाउन मात्र सिकेकी बाँकी काम थालेपछि सिक्दै गएँ।

संगीतमा विशेष रुचि भएका कारण यो पेसाले तानेको उनीहरू बताउँछन्। क्लबमा आएको भिडको मनस्थिति अनुसार गीत बजाएर उनीहरूलाई नचाउनको मज्जाबारे डीजे ग्याल भन्छिन्, हाम्रो कामको आनन्द भनेकै त्यहाँ आएका मानिसहरु मनस्थिति बुझ्ने र त्यही अनुसारको गीत बझाउने हो। आफूले बजाएको गीतमा उनीहरु झुम्न थाल्दा एकदम रमाइलो लाग्छ । सुरुमा काम पाउन त्यति सजिलो नभएको र काम पनि निकै गाह्रो भएको उनीहरू बताउँछन्। तर पछिल्लो समय भने उनीहरूलाई काम पाउन त्यति गाह्रो छैन।

सहरहरूमा जीवनशैली बदलिँदै गएसँगै डीजेहरूको माग पनि बढी हुन थालेको छ। क्लबहरूको सङ्ख्या बढ्दै गएको र विवाह, नयाँ वर्षलगायत अवसरमा पनि डीजे बोलाउने चलन बढ्दै गएपछि केही सहज भएको उनीहरूको भनाइ छ। तर, अझैपनि आफूले गरेको कामको पारिश्रमिक लिन सहज नभएको शालु बताउँछिन्, महिला र पुरुषको काम चाहिँ उस्तै छ कि छैन भनेर दाँज्ने थुप्रै भेटिन्छन्। तर काम गरेपछि पारिश्रमिक दिने समयमा चाहिँ यो केटीले गरेको काम हो भनेर पैसा दिन निकै समयसम्म कुराउँछन् ।

यस्तो अवस्थामा चाहना हुँदाहुँदै पनि लामो समयमा यो पेसालाई निरन्तरता दिन कठिन हुने उनीहरू बताउँछन्। राति अबेरसम्म काम गर्ने र निश्चित आम्दानी पनि नभएको क्षेत्रमा यी महिला डीजेहरूले गरेको सङ्घर्षले समाजमा महिलाहरूले चाहे भने जुनसुकै काम गर्न सक्छन् भन्ने सन्देश दिएको महिला अधिकारकर्मीहरू बताउँछन्। यस्तै समाज बदलिँदै जाँदा महिला र पुरुषका लागि भनि छुट्याइएका पेसाहरूमा पनि परिवर्तन आउने उनीहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित