क्याम्पसको सटर कौडीको भाउमा भाडामा, व्यापारीसँगको मिलेमतोमा रकम असुल्दै कर्मचारी
यदुनाथ बञ्जारा
कास्की । चिकित्सा शाष्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसका एक दर्जन सटरहरु विना टेण्डर भाडामा लगाएर बर्षौंदेखि अनियमितता गर्दै आएको तथ्य खुलेको छ । पोखरा १० अस्पताल चोकमा रहेका क्याम्पसका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको हो ।
२०६३ सालमा निर्माण भई सञ्चालनमा आएको ति सटरहरु सञ्चालनको सुरुवाती समयका टेण्डर गरि भाडा संझौता गरिएको थियो । तर, एक दशक बढि समय वितिसक्दा पनि विना टेण्डर पुरानै व्यापारीहरुलाई म्याद थपिदिदा क्याम्पसले समय सापेक्ष पाउन सकेको छैन । जसका कारण क्याम्पसले वार्षिक लाखौं घाटा वेहोर्नु परेको छ ।
क्याम्पस प्रसाशनले व्यापरीहरुसँग मिलेमतो गरि मनोमानी ढंगबाट भाडा करार संझौता गर्दै आएका थिए ।
टेण्डरको पहिलो पाँच वर्षे म्याद २०७० सालमै सकिएको थियो । सम्झौता वमोजिम पाँच वर्षपछि टेण्डर गर्नु पर्नेमा क्याम्पस प्रसाशनले व्यापारीको स्वार्थ बमोजिम करार सम्झौता थप गर्दै आएको थियो । क्याम्पसले संझौता थप गर्दा साविक भाडामा १० प्रतिशत मात्र थप गरेको छ । अस्पताल चोकमा रहेका सटरहरु ३० हजार बढि भाडामा लाग्ने गरेका छन् । तर, नर्सिङ क्याम्पसले लगाएको भाडा न्युनतम दुई हजार पाँच सय देखि अधिकतम १५ हजार ७ सय ३६ रुपैयाँ सम्मका रहेका छन् ।
गोप्य टेण्डर गर्ने हो भने क्याम्पसले हाल पाइरहेको भन्दा दोब्बर भाडा पाउने अपेक्षा गरिएको छ ।
हाल सटर नं. १ नम्वरको १३ हजार ५००, २ नम्वरको १० हजार ४८३, ३ को भाडा १५ हजार ७३६, ४ नम्वरको २ हजार ५००, ५ नम्वरको १० हजार ४५०, ६ नम्वरको १२ हजरा १००, ७ नम्वरको ११ हजार ५५०, ८ नम्वरको १० हजार ०००, ९ नम्वरको २ हजार ७५०, १० नम्वरको ९ हजार ५००, ११ नम्वरको ९ हजार ९०० र १२ नम्वरको ९ हजार ३५० रुपैयाँ भाडा तिर्दै आएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । क्याम्पसका आर्थिक सह–नियन्त्रक चिरञ्जिवी प्रसाद थपलियाले हालको भाडा न्यून रहेको बताए ।
उनले भने–‘अब माघ महिनामा सबै सटरको टेण्डर गरिन्छ ।’
क्याम्पस प्रमुख नीता ताम्राकारले विगतका कमीकमजोरी सच्चाएर अवका दिनमा सटरको नियमानुसार टेण्डर गर्ने प्रतिवद्धता व्यक्त गरेकि छन् । ‘मैले माघ भित्र टेण्डर निकाल्न आर्थिक प्रशासन शाखालाई निर्देशन दिइसकेको छु, नियमानुसार टेण्डर खुल्छ ढुक्क हुनुहोस्’–उनले भनिन् ।
विद्यालय हटाएर हस्पिटल बनाईंदै
२७ वर्षको सम्झौता गरेर खुलेको साविक नोवेल इन्टरनेशनल स्कुल हाल नोवेल सेकेन्डरी स्कुलको सम्झौता तोड्न प्रकृया अगाडि बढ्ने भएको छ । उक्त स्कुलसँगको सम्झौता तोडेर १०० वेडको जनरल हस्पिटल बनाउन गृह कार्य सुरु भएको पोखरा नर्सिङ क्याम्पस स्रोतले दावी गरेको छ ।
नर्सिङ क्याम्पस पोखराले आफ्नो स्वामित्वमा रहेको स्वास्थ्य कार्यालय रानीपौवासँग जोडिएको जग्गा पोखरा–६ वैदाम निवासी सुन्दर कुमार श्रेष्ठँग सम्झौता भएको थियो । श्रेष्ठले स्कूल सञ्चालनको लागि जग्गा प्रयोग गरेका छन् । सम्झौताका सर्त पालना नगरेका कारण कलेजले विद्यालयको सम्झौता रद्द गर्न लागेको क्याम्पस प्रमुख नीता ताम्राकारले बताइन् ।
सम्झौता वमोजिम उक्त जग्गाको अग्रभागमा दुई तले पक्की भवन र विजनेस कम्प्लेक्स बनाउन पर्ने भवनको नक्सा डिजाइन र मापदण्ड कलेजले दिए अनुसार हुनुपर्ने थियो । तर यि सर्तहरु अवज्ञा गरेपछि सम्झौता रद्द गर्ने प्रकृयामा पुगेको बताइएको छ ।
रानीपौवाको मुख्य सडकसँग जोडिएको ३५ रोपनी जग्गा र घरहरु समेत गरी हाल जम्मा ९३ हजार ७६८ रुपैयाँ मात्र मासिक भाडा नोवेल सेकेन्डेरी स्कुलले नर्सिङ क्याम्पस पोखरालाई बुझाउँदै आएको छ । तत्कालीन क्याम्पस प्रमुख भगवती केसीको कार्यकालमा भएको करार सम्झौताका प्रमुख सर्तहरु अटेर गरी विद्यालय सञ्चालन गरीएका कारण महालेखा परिक्षकले समेत सम्झौता अनुसार काम गराउन निर्देशन दिएको क्याम्पसका लेखा नियन्त्रक यमसिंह वोहोराले बताए ।
तर, स्कुल सञ्चालकले करार सम्झौताका सर्तहरु कार्यान्वयनमा आजसम्म तदारुकता नदेखाएका कारण सम्झौता रद्दको प्रकृया अगाडि बढाउन लेखापढी भै रहको बोहोराले बताए । यस बारेमा जग्गा करार सम्झौता दोस्रो पक्ष अर्थात् सुन्दरकुमार श्रेष्ठसँग प्रतिकृया लिन खोज्दा उनको मोवाइल उठेन ।
कलेजले आफ्नै एक सय शैयाको जनरल हस्पिटल बनाउन तयारी अगाडि बढाएको छ ।
नोवल इन्टरनेशनल वोर्डिङ स्कुल भएको ठाउँमा हस्पिटल बनाउने योजना चिकित्सा शास्त्र अध्ययन संस्थानले अध्ययन गरेको आर्थिक सह–नियन्त्रक चिरञ्जिवीप्रसाद थपिलियाले बताए । नर्सिङ क्याम्पसले आफ्नै अस्पताल बनाउन पर्ने स्वास्थ्य मन्त्रालयले २०७० मा जारी गरेको स्वास्थ्य संस्था संचालन तथा स्तरोन्तरी मापदण्ड जारी गरेको थियो ।
नर्सिङ कलेज, एचए कलेज चलाउन आफ्नै सय शैयाको अस्पताल खोल्नु पर्ने व्यवस्था छ । तर, पनि अधिकांब स्वास्थ्य शिक्षा पढाउने कलेज तथा इन्स्च्यिुटहरुले अस्पताल बनाएका छैनन् । यस्ता कलेजहरुले अरु अस्पतालसँग सम्झौता गरी फिल्ड अभ्यास गराउँदै आएका छन् ।
वर्षौ देखि भाडा कर समेत गुमनाम
नर्सिङ क्याम्पस पोखराले २०६५ सालदेखि व्यापारिक कम्प्लेक्स बनाएर भाडा खादै आएको छ । तर, भाडा आम्दानी वापत वहाल कर अझसम्म बुझाएको छैन । टेण्डर समेत नगरी मनोमानी ढंगवाट व्यापारीलाई भाडामा सटर जिम्मा लगाएर सार्वजनिक खरिद नियमावली विरुद्ध काम गरेको क्याम्पसले राज्यलाई तिर्नुपर्ने वहाल कर समेत छलेर अर्को गल्ती गरिरहेको छ ।
पोखरा नर्सिङ क्याम्पसले हस्पिटल चोकमा साना दुईवटा सहित १२ वटा सटर भाडामा लगाएर वार्षिक १४ लाख वढी रकम आम्दानी गर्दै आएको छ । तर, पनि विगत १० वर्ष देखि राज्यलाई भाडाकर बुझाएको छैन । त्रिभुवन विश्वविद्यालयले भाडा कर तिर्न निर्देशन नदिएकोले कर नबुझाएको लेखा नियन्त्रक यमनसिंह बोहोराले बताए ।
त्रिभुवन विश्व विद्यालय मातहतकै पृथ्वीनारायण क्याम्पस पोखराले हरेक वर्ष आन्तरिक राजस्व कार्यालयमा भाडा कर बुझाउँदै आएको लेखाका कर्मचारी केदारनाथ अधिकारीले बताए । यस विषयमा आन्तरिक राजस्व कार्यालयका प्रमुख केशवकुमार उप्रेतीसँग प्रतिकृया लिंदा छानविन गरी नियमानुसार कर असुल उपर गरिने बताए ।
यूनाइटेड पोस्ट साप्ताहिक
प्रतिक्रिया