नयाँ वर्षपछि मेलम्चीमा फर्कदै इटालियन कम्पनी

melamchi

   काठमाडौं । एकतर्फी रुपमा मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किने भएको छ । विभिन्न समस्या देखाउँदै १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको सिएमसी फेरि काममा फर्कन सहमत भएको स्रोतले बताएको छ ।

शुक्रबार नै मेलम्ची खानेपानी बोर्डमा अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको भएपनि यो कुरा भने बाहिर आएको छैन ।

सीएमसीले काम छाडेपछि सरकारले उसको २ अर्ब धरौटी रकम रोक्का गरेको थियो । तर, उच्च अदालत पाटनले सरकारको त्यो निर्णय खारेज गर्दै दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । तर, यो मुद्दामाथिको बहस शुक्रबारका लागि सरेको छ ।

मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्सको जिम्मा पाएको सीएमसीले सुरुङमार्ग खनेर फिनिसिङको काम पनि अन्तिम चरणमा पुर्‍याएको अवस्थामा ठेक्का छाडेको जानकारीसहितको पत्र आयोजनालाई दिएको थियो । पत्र बुझाउनुभन्दा अघिल्लो दिनमा नै विदेश उड्न लागेका ठेकेदार कम्पनीका प्रतिनिधिलाई दरबारमार्ग प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएर सरकारलाई बुझाएको थियो ।

उनीहरुको पासपोर्टसमेत जफत गरेर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई प्रहरीले जिम्मा लगाएको थियो । तर, दूतावासको एउटा पत्रपछि सीएमसीका प्रतिनिधिहरु छुटिसकेका छन् ।

सीएमसीको पछिल्लोपटक थपिएको म्याद यही डिसेम्बर महिनामा सकिँदैछ । अब ठेक्काको म्याद सकिन ८ दिनमात्र बाँकी छ । यो ८ दिनभित्र नवीकरण नभए धरौटी रकम जफत गर्न कानुनी अड्चन पर्छ । अदालतको फैसला ढिला आउने र ठेक्काको म्याद पनि सकिने भएमा धरौटीवापतको दुई करोड रकम स्वतः उनीहरुको खातामा जाने कानुनी व्यवस्था छ । त्यसैले उनीहरुले क्रिसमस र नयाँ वर्षको बाहाना बनाएको आरोप पनि लागिरहेको छ ।

यसअघि मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा मेलम्चीको ठेकेदारका प्रतिनिधिहरुले आफूहरुको कम्पनी सीएमसी टाट पल्टिएको भन्दै कम्पनीबाट थप रकम अब नआउने, तर नेपाल सरकारले दिनुपर्ने रकम दिएमा काम सम्पन्न गर्ने बताएका थिए ।

हुनत खानेपानी मन्त्री विना मगरले मेलम्चीको ठेकदारले काम छाडे पनि घाटा लाग्दैन भनेसँगै उनका ससुरा तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरवेटीलाई शारदाप्रसाद अधिकारीलाई यो ठेक्का दिलाउन यि सब नाटक भएको समाचार पनि बाहिर आइरहेका छन् । तर, यो पुष्टि हुने आधार भने देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित