सभामुखको हुकुमी शैलीप्रति संसदमा कांग्रेसको विरोध प्रदर्शन

nepali congress

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको भन्दै संसदभित्रै विरोध जनाएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबारे प्रश्नोत्तर गर्न माग गर्दा सभामुख महराले समय नदिएको भन्दै कांग्रेसले नाराबाजी गरेको हो। कांग्रेसको वेल घेराउ र नाराबाजीपछि बैठक स्थगित भएको छ।

बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगनकुमार थापाले भने–‘प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको शैली हुकुमी हो ।’ थापाले सभामुखले पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले संसदमा आईतबार विरोध प्रदर्शन गर्न काँग्रेस बाध्य भएको बताए ।

‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्य ?,’ थापाले भने–‘सभामुखका अनुसार संसदको नियमावलीको व्याख्या गर्ने हो भने त उहाँको अनुमतिबिना भित्र बस्न पनि पाइन्न।’ उनले प्रधानमन्त्रीले प्रश्न सामना गर्नु थिएन भने सिंहदरबारबाट मन्तव्य दिएको भए भइहाल्थ्यो किन सदन प्रयोग गरियो त भन्दै प्रश्न समेत गरे ।

पूर्व सहमतिअनुसार आफूहरुले प्रश्न सोध्नका लागि पाँच जनाको नाम सिफारिस गरिएको भन्दै सांसद थापाले सभामुखले सत्तापक्षसँग मिलेमतो गरी प्रश्न गर्न नदिएर हुकुमी शैलीमा संसद चलाउन खोजेको आरोप लगाए । उनले प्रधानमन्त्रप्रति आक्रोश पोख्दै भने–‘राष्ट्रनिर्माणमा प्रतिपक्षीलाई मिलौं भन्ने अनि संसदमा प्रश्न सोध्छु भन्दा त्यसको जवाफ दिन नसक्ने ?’ कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिए संसद नै चल्न नदिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित