प्रचण्डको जिल्लामा पाकिस्तानी राजदूतको भव्य स्वागत

pakistan

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा पाकिस्तान आफ्नो उपस्थिति देखाउन सफल भएको छ । पाकिस्तानसँग भारतको सम्बन्ध राम्रो छैन भन्ने हेक्का राखेका प्रचण्डले आफ्नी छोरी रेणु दाहालसँग पाकिस्तानको सम्बन्ध सुमधुर बनाइदिएका छन् ।

 रेणुले नेपालका लागि पाकिस्तानी राजदूत डा.मजर जाबेललाई भरतपुरमा बोलाएर भव्य स्वागत गरेकी छिन् । रेणुले राखेको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डा.मजर जाबेदले नेपाल–पाकिस्तानको असल मित्र भएको बताएका थिए ।

 नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरमा आयोजित पाकिस्तानी राजदूतावासको शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डा. जाबेलले नेपालसँगको सम्बन्ध सुमधुर रहेको बताएका हुन् । भारतले देशव्यापी रुपमा शैक्षिक सहयोगदेखि एम्बुलेन्स, विद्यालय निर्माण, सडक निर्माण जस्ता कार्यमा सहयोग गर्दै आइरहेकोमा पाकिस्तानले पनि सोही शैली अपनाउन लागेको छ ।

 पाकिस्तान र भारतको राम्रो सम्बन्ध छैन । तर, प्रचण्डले भारतसँग सीमाना जोडिएको चितवनमा पाकिस्तानलाई प्रवेश दिएपछि भारतीय दूताबास झस्किएको छ । प्रचण्डले आफ्नी छोरीमार्फत केहि दिन अघि नेपालका लागि पाकिस्तानी राजदूत डा.जाबेललाई चितवनमा स्वागत गराएर भारतलाई तर्साउन खोजेको हो कि भन्ने आशंका भारतीय दूताबासका अधिकारीहरुको छ ।

 सो विद्यालयलाई पाकिस्तानी राजदूतावासको तर्फबाट१० लाख रुपैयाँ बराबरको कम्प्युटर हस्तान्तरण गरिएको थियो । डा. जाबेलले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको क्षमता विकासको लागि कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए । कार्यक्रममा राजदूत डा.जाबेदलाई प्रमुख अतिथि बनाइएको थियो ।

 भरतपुर महानगरपालिकाकी मेयर रेणु विशिष्ट अतिथि थिइन् । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले नेपाल र पाकिस्तानकाबीच मैत्री सम्बन्ध कायम भएसँगै मित्रराष्ट्र पाकिस्तानले नेपालको भौतिक, सामाजिक र सांस्कृतिक विकासका साथै प्राविधिक विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताइन् ।

 रेणुले पाकिस्तानी राजदूत डा.जाबेलसँग निरन्तर सहयोगका लागि आग्रह पनि गरिन् । पाकिस्तानी राजदूतावासले भरतपुर महानगरपालिकाभित्र रहेका नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरलाई सुविधासम्पन्न कम्प्युटर ल्याब स्थापनार्थ सहयोग गरेकोेमा राजदूत डा.जाबेललाई धन्यवाद व्यक्त गरेकी थिइन् । पाकिस्तान सरकारको सहयोगमा भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेको भरतपुर आँखा अस्पताल देशकै नमूना अस्पतालको रूपमा सञ्चालनमा रहेको मेयर रेणुले बताइन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित