बलियो बन्दै छिमेकी, २०३० सम्म अमेरिकालाई पछि पार्ने प्रक्षेपण
काठमाडौं । लगातार तेस्रो पटक उच्च अंकको आर्थिक वृद्धिको नजिक रहेको नेपालका दुई छिमेकी राष्ट्र आर्थिक रुपमा विश्वको पहिलो र दोस्रो राष्ट्र बन्ने देखिएको छ । एक प्रतिवेदनअनुसार अबको ११ वर्षमा चीन विश्वकै पहिलो र भारत दोस्रो स्थानमा आर्थिक रुपले शक्तिशाली राष्ट्र बन्ने छन् ।
बेलायतस्थित वित्तीय सेवाप्रदायक कम्पनी स्ट्यान्डर्ड चार्टर्डको पछिल्लो प्रक्षेपणअनुसार आगामी एक दशकभित्र चीन संसारको सबभन्दा ठूलो अर्थतन्त्रका रूपमा स्थापित हुनेछ । यही अवधिमा भारत पनि अमेरिकालाई उछिनेर दोस्रो स्थानमा उक्लिने उसको अनुमान छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार स्ट्यान्डर्ड चार्टर्डले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र प्रतिव्यक्ति क्रयशक्तिका आधारमा यस्तो प्रक्षेपण गरेको हो । सन् २०२० दशकमा भारतको अर्थतन्त्र ७.८ प्रतिशतका दरले वृद्धि हुने अनुमान छ। यस अवधिमा चीनको आर्थिक वृद्धिदर केही घटेर सन् २०३० सम्म पुग्दा ५ प्रतिशत रहने स्ट्यान्डर्ड चार्टर्डको प्रक्षेपण छ ।
उक्त प्रतिवेदनले आगामी दशकमा संसारका १० ठूला अर्थतन्त्रमा व्यापक उतारचढाव आउने अनुमान पनि गरेको छ। यसअनुसार संसारको आर्थिक शक्ति पश्चिमी मुलुकहरूबाट अहिलेका उदीयमान मुलुकमा सर्नेछ। त्यसपछि विश्व अर्थतन्त्रमा एसियाली मुलुकहरूको हिस्सा धेरै हुनेछ ।
सन् २०१८ मा संसारको कुल अर्थतन्त्रमा एसियाको हिस्सा २८ प्रतिशत छ। सन् २०३० सम्म यो हिस्सा बढेर ३५ प्रतिशत पुग्ने अनुमान छ । स्ट्यान्डर्ड चार्टर्डको पछिल्लो अनुमानअनुसार २०३० सम्म अर्को एसियाली मुलुक इन्डोनेसियाले संसारको चौथो अर्थतन्त्रको हैसियत बनाउनेछ भने टर्की पाँचौं स्थानमा रहनेछ ।
प्रतिक्रिया