‘टिके’ नेतृत्व हत्याउन विद्यार्थी नेताहरु दौडधुपमा

nsu

   काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) को नयाँ नेतृत्वका लागि विधान विपरित थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि विद्यार्थी नेताहरु पार्टीका शिर्ष नेताहरुको दैलो चाहर्न थालेका छन् ।

पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको थियो । उक्त समय पनि बुधबार सकिएको छ । विधानमा एक पटक तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि थपिएको तीन महिनामा समेत अधिवेशन गर्न नसकेपछि विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय भन्दै फेरी दुई महिना म्याद थपिएको थियो ।

थपिएको समयसीमा भित्रमा १५ जिल्लामा मात्र अधिवेशन भयो । तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएकाले केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले यसअघि नै राजीनामा दिएका छन् । म्याद नथपिने भएकाले बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल बुधबारबाट स्वतः सकिएको छ । संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुई वटा विकल्पमध्ये समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले अधिकांश नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।

धेरैले राजीनामा दिएकाले पनि अहिलेको कार्यसमिति विघटन हुने संभावना बढी रहेको नेताहरुको दाबी छ । हालको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नुपर्ने भएकाले तदर्थ समितिको नेतृत्वका लागि विद्यार्थी नेताहरुले दौडधुप सुरु गरेका छन् । कांग्रेसले नेविसंघको १२औँ महाधिवेशन गर्न नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई जिम्मेवारी दिएको थियो ।

अध्यक्ष महरले आफ्नो जिम्मेवारीलाई समयसीमाभित्र पूरा गर्न नसकेपछि नेविसंभित्र झन भाँडभैलो मच्चिएको छ । अध्यक्ष महरको राजीनामा माग गरिएको छ । महरलाई हटाउन विरोध समूहभन्दा पनि आफ्नै गुटका नेताहरू सक्रिय भएर लागेका छन् । तर, उनी अझै तदर्थ समितिमा नै बस्न पाउनुपर्ने माग राख्दै दौडधुपमा लागेको स्रोतको दावी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाको निकट मानिने अध्यक्ष महरले फेरि पनि अध्यक्ष पाउनुपर्ने दावी गर्दै आएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १० गते बस्दै छ । माघ १० गतेको बैठकले नै नेविसंघको निर्णय गर्नेछ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १० माघका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताए । नेविसंघका विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा माघ १० गते बस्ने बैठकमा छलफल हुने उनले बताएका छन् ।

अध्यक्ष महरले आफ्नै नेतृत्वमा वैशाखमा १२औँ महाधिवेशन हुने दाबी गर्ने गरेका छन्  । महरले सभापति देउवासँग वैशाखसम्म आफ्नो कार्यकाल लम्बाइदिन माग गर्दै आएको एक नेताले बताए । महरले पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो  ।

अहिलेसम्म क्याम्पस, स्थानीय तह, जिल्ला र प्रदेशमै अधिवेशन गर्न बाँकी छ  । अहिलेसम्म ७७ जिल्लामध्ये १५ जिल्लाको मात्रै अधिवेशन सकिएको छ  । उपत्यकाभित्रका कुनै पनि क्याम्पसको अधिवेशन भएको छैन  ।

नेविसंघ केन्द्रीय कार्यसमितिको दुईवर्षे कार्यकाल गत भदौमै समाप्त भएको थियो  । त्यसपछि विधानअनुसार एकपटकका लागि तीन महिना म्याद थप गरेर २ मंसिरसम्म पु¥याइएको थियो  । उक्त समयमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको १ मंसिरमा बसेको बैठकले विधान संशोधन गरी थप दुई महिना कार्यकाल लम्ब्याएको थियो  ।

अध्यक्ष महरको कार्यशैलीको विरोध गर्दै उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले २७ पुसमा सभापति देउवालाई राजीनामा बुझाएका थिए  । सहमहामन्त्री हरिहर शर्मा नेतृत्वमा ४५ सदस्यीय टोलीले पनि आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाइसकेको छ  ।

कांग्रेस सभापति शेरबहादुर देउवापक्षबाट राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दाबी गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् ।

त्यसैगरी, कृष्णप्रसाद सिटौला पक्षबाट बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दाबी गरेका छन् । नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियू निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेवारी पाउने छ । त्यसैगरी संगठन लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, देशमा जघन्य अपराधका घटना हुँदा पनि आन्दोलन गर्न नसकेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेकोलगायतका अहिलेको नेतृत्वबाट हुन नसकेका कामहरु पनि नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित