‘समर लभ’ पुस्तकलाई फिल्मले न्याय गरेको छ’, निर्देशक ढकाल
काठमाडौं । अपवाद बाहेक अधिकांश फिल्मले उपन्यासमाथि न्याय गर्न सकेका छैनन् । कृतीमाथि बनेका चलचित्रहरुले बक्स अफिसमा त्यस्तो लोभलाग्दो व्यापार गर्न नसकेको अवस्था हो । यहीक्रममा, चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर बनेको चलचित्र ‘समर लभ’को निर्माणपक्षलाई पनि चुनौती छ ।
माघ २५ गतेबाट रिलिज हुन लागेको चलचित्रका निर्देशक मुस्कान ढकाल आफू उपन्यासलाई चलचित्रमा ढाल्दा दर्शक भड्किने गरेको कुरामा सचेत रहेको बताउँछन् । चलचित्रमा ‘अतित’को भूमिकामा आशिष पियाले काम गरेका छन् ‘साया’को भूमिकामा रेवती क्षेत्रीले काम गरेकी छिन् । ‘सुस्मिता’को भूमिकामा भने नम्रता सापकोटाले काम गरेकी छिन् । चलचित्रमा लेखकको भूमिका सुरजसिंह ठकुरीलाई देख्न सकिन्छ । निर्देशक ढकाल भन्छन्–‘समर लभ पुस्तकलाई पाठकले जति माया दिनुभएको छ, यसको भाव वुझ्नुभएको छ, सोहीअनुसार कथाको मर्म मर्न दिएको छैन ।
पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौ ।’ चलचित्रको शैलीमा ढाल्दा पुस्तकमा भएका कुरा थपघट हुन सक्ने उनले बताए । मुस्कानले चलचित्रको कमजोरी नै कथामा रहेको भन्दै आफू सचेत भयको सुनाए । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा बनेको यो चलचित्रको व्यापारले नेपाली कृतीमाथि चलचित्र बनाउने निर्मातालाई हौसला मिल्ने अपेक्षा निर्माणपक्षको छ ।
आख्यानकार सुबिन भट्टराईको सर्वाधिक सफल उपन्यास हो यो । यो पुस्तक नपढेका व्यक्ति भेट्न गाह्रै पर्छ । सम्भवतः छैनन् पनि । पुस्तकका पात्र साया शाक्य र अतित शर्माको प्रेमभित्र आफूलाई भेट्ने युवापुस्ता धेरै छन् । साया र अतितबीचको प्रेम, रोदन, रोमान्स, विछोड, छट्पटि र मिलनलाई पाठकले आफ्नै हिसाबले दिमागमा दृश्य निर्माण गरेका छन् ।
प्रतिक्रिया