तीन फरक स्वादका फिल्म एकसाथ प्रदर्शनमा
काठमाडौं । केही वर्षदेखि हरेक हप्ताको शुक्रवार दुईभन्दा बढी फिल्म रिलिज हुने परम्परा नै बस्न थालेको छ । यो हप्ता पनि यसले निरन्तरता पाएको छ । शुक्रवारबाट तीन फरक स्वादका फिल्मले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । फिल्म हुन्– ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ।
दीपेन्द्र लामा निर्देशित ‘गोपी’ ले स्वदेशमै अथाह सम्भावना देखाएको छ भने गोविन्द सिंह भण्डारीको ‘रणवीर’ बदलाको कथामा बनेको छ । रामशरण पाठकको निर्देशन रहेको ‘सयकडा दश’ ले भने भष्ट्राचार विरुद्धको प्रेम बोल्छ । गीतसंगीत र ट्रेलरका कारण तीनै फिल्मप्रति दर्शकको अपेक्षा धेरै छ ।
दुईपटक विशेष शोमा विशिष्ट व्यक्तित्वहरुबाट वाहवाही बटुलेको ‘गोपी’ मा अभिनेता विपिन कार्की टाइटल क्यारेक्टरमा छन् । प्रत्येक फिल्ममा फरक चरित्र निभाउने उनी यसमा एक गाईपालक युवकको भूमिकामा छन् । उनीसँगै वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।
आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । फिल्मले नेपालका किसानहरुको वास्तविक समस्या भनेको छ ।
गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा फिल्म ‘रणवीर’ मा शुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
यस्तै, ‘सयकडा दश’ बाट हास्यकलाकार मनोज गजुरेलले अभिनय यात्रा सुरु गरेका छन् । भष्ट्राचारले समाज र परिवारमा पार्ने प्रभावको कथा भन्ने फिल्ममा मनोजका अलावा सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको पनि अभिनय छ ।
रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । फिल्मका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् ।
यी तीन नेपाली फिल्मसँग सोनम कपूर, अनिल कपूर, राजकुमार राव स्टारर बलिउड फिल्म 'एक लड्कीको देखा तो ऐसा लगा' ले पनि नेपाली हलमा शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ ।
प्रतिक्रिया