संसदभित्र अमेरिकन जासुसको घुसपैठ
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूमा एनजिओ र आइएनजिओहरूको प्रवेश शुरु भैसकेको छ । संविधानसभामा विदेशीहरूको इच्छाअनुसार काम भएको भन्दै सांसदहरूको आलोचना भएका थिए । एनजिओहरूकै कारण पहिलो संविधानसभाले काम गर्न नसकेको आरोप छ ।
दोस्रो संविधानसभामा पनि एनजिओको ठूलो प्रभाव रहेको थियो । नयाँ संविधान आएपछि भएको निर्वाचनबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले झण्डै दुई तिहाइ बहुमत पायो । नेकपाको बलियो सरकार छ । तैपनि नेकपाको सरकारलाई अप्ठेरो बनाउने गरी एनजिओ र आइएनजिओहरू भित्रभित्रै गोप्य योजनाका साथ संसदीय समितिहरूमा प्रवश गर्न थालेका छन् ।
वर्तमान सरकारमाथि नयाँ संविधान अनुसार थुप्रै ऐन, कानून र विधेयकहरू पास गर्नुपर्ने दायित्व छ । यस्तो अवस्थामा फेरि विदेशी संस्थाहरूले सांसदहरूलाई प्रलोभनमा पार्न थालेका छन् । दुई दिन अगाडि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अमेरिकाको लगानी रहेको एउटा आइएनजिओले ललितपुरको गोदावरीमा लगेर प्रशिक्षण दिएको छ ।
अमेरिकनहरूको योजना अनुसार राष्ट्रियसभाका सांसदहरूलाई गोप्य रुपमा रिसोर्टमा लगेर प्रशिक्षण दिइएको छ । प्रशिक्षण के विषयमा दिइएको थियो ? सांसदहरूले केही बताउन मानेका छैनन् ।
गोदावरीको एक रिसोर्टमा नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) नामक आइएनजिओले राष्ट्रियसभाका सांसदहरूलाई आवासीयसहित नगद भत्ता दिएर तालिम दिएको स्रोतले जनाएको छ ।
सांसदहरूलाई संविधानअनुसार धेरै कानून बनाउनु पर्ने र ती कानूनहरू बनाउँदा अन्तर्राष्ट्रिय कानूनहरूसँग नजुध्ने गरेर बनाउन एनडिआईका प्रशिक्षकहरूले प्रशिक्षण दिएको स्रोतको दावी छ । ‘नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका सम्झौता, सहमति र अन्तर्राष्ट्रिय कानूनसँग नजुध्ने गरेर ऐन कानून बनाउनुपर्छ भनेर प्रशिक्षण दिएका थिए’, एकजना सांसदले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘एनडिआइको उद्देश्य नेपालको कानूनहरू बनाउँदा अमेरिकाले चाहेअनुसार होस भन्ने देखिएको थियो ।’
दुई वटा संविधानसभामा अमेरिकन एनजिओ एनडिआईले सांसदहरूलाई भड्काएर ठूलो विवाद ल्याएको अहिले पनि चर्चा हुने गरेको छ ।
एनडिआईले फेरि आफ्नो गतिविधिलाई सक्रिय बनाएको छ । एनडिआइले राष्ट्रियसभाकै सचिव राजेन्द्र फुयाँललाई स्कलरशिप दिएर चार महिना अमेरिकामा लगेर अध्ययन समेत गराएको थियो । स्रोतले भन्यो, ‘एनडिआइले राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँललाई अमेरिका लगेर चार महिनासम्म प्रशिक्षण दिएर पठाएको छ ।
सायद उहाँकै कारण सांसदहरूलाई अमेरिकनहरूले प्रभावमा पार्न थालेको हुनुपर्छ ।’ सचिव फुयाँललाई नै अमेरिकनको जासुसका रुपमा संसद सचिवालयमा धेरैले आरोप लगाउने गरेका छन् ।
राष्ट्रियसभा र प्रतिनिधिसभामा विधायन व्यवस्थापन समिति महत्वपूर्ण समितिमा पर्छ । विधानय समितिमा सबै विधेयकहरूको छलफल भएर पूर्ण आकार दिइने गरिन्छ । विदेशी राष्ट्रहरूले यस्ता महत्वपूर्ण समिति र त्यसका सदस्य एवम् सांसदहरूलाई प्रभावमा पार्न गतिविधि सक्रिय बनाएका छन् ।
विधान व्यवस्थान समितिको सभापति तत्कालीन एमाले पृष्ठभूमि भएका सांसद पर्शुराम मेघी गुरुङ छन् । रिसोर्टमा भएको आइएनजिओको भत्तासहितको आवासीय कार्यक्रमका बारेमा जानकारी लिन सम्पर्क गर्दा सभापति गुरुङले फोन उठाएनन् ।
अमेरिकन आइएनजिओ एनडिआइले सबै सांसदहरूलाई भत्तासहितको आवासीय कार्यक्रमका लागि निम्तो दिएपनि केही सांसदरू गएका थिएनन् । पूर्वमाओवादी नेता खिमलाल देवकोटाले पनि सांसदहरूलाई प्रशिक्षण दिएका थिए । समितिको सदस्यहरूमा अनिता देवकोटा, उदया शर्मा पौडेल, जितेन्द्र नारायण देव, ठगेन्द्र प्रकाश पुरी, नन्दा चपाई, बद्रीप्रसाद पाण्डे, मीना बुढा, यूटोल तामाङ, रामलखन चमार, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंगबहादुर विश्वकर्मा र हरिचरण शिवाकोटी रहेका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)
प्रतिक्रिया