'समर लभ' रिलिजको पहिलो दिन, झरीको प्रभाव
काठमाडौं । नेपालमा पुस्तकमाथि बनेका फिल्मको इतिहास खासै राम्रो छैन । चर्चित पुस्तकमाथि फिल्म निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । दर्शकलाई पुस्तकको हरेक एक हरफ कन्ठस्थ भइसकेको हुँदा फिल्म हेरिरहँदा कमी कमजोरी बढी औंल्याउँछन् । अधिकांशले पुस्तक पढ्दै गर्दा दिमागमा एउटा सुन्दर स्केच तयार पारिसकेका छन् र फिल्ममा पनि दुरुस्तै त्यही खोज्दछन् । यसकारण पनि पुस्तकमाथि फिल्म बनाउनु निकै जटिल काम हो ।
चलचित्र हेर्न दर्शक हलमा जान छाडेपछि यतिबेला चलचित्र क्षेत्रमा पनि यसले ठूलै बहस निम्त्याएको छ । यसैले कुन चलचित्रले दर्शकलाई हलसम्म तान्छ भन्ने विश्लेषण हुँदै आएको छ ।
आजबाट रिलिजमा आएको चलचित्र ‘समर लभ’ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा धेरैको छ । चर्चित उपन्यासमाथि बनेको चलचित्र भएकाले पनि दर्शकले यसलाई मन पराउने अपेक्षा यसको निर्माणपक्षको छ ।
तर, चलचित्रको बिहानी व्यापारमा बिहिबारदेखि परेको पानीको प्रभाव देखिएको छ । आशिष पिया, रेवती क्षेत्री र नम्रता सापकोटाको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको कथा भन्छ । अतित र सायाको प्रेमकथामा निर्माण भएको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।
सुविन भट्टराइको कथा, सुविन र सामिप्याराज तिमिल्सिनाको पटकथा रहेको यो चलचित्रले प्रेमको यात्रामा दर्शकलाई लैजाने विश्वास यसको निर्माणपक्षको छ । चलचित्रलाई काठमाण्डौको क्यूएफक्सले ७ शो दिएको छ ।
प्रतिक्रिया