‘केजीएफ’ नेपाली हलमा प्रदर्शनको ५१ औं दिन
काठमाडौं । गत मंसिरमा प्रदर्शनमा आएको फिल्म 'प्रसाद' पछि कुनै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकेको नेपाली सिनेक्षेत्रमा दर्शक हराएको चर्चा हुन थालेको छ ।
कुनै बेला प्रत्येक नेपाली फिल्मले प्रदर्शनको ५१ औं र सय दिन सजिलै मनाउथे । न्यून संख्यामा फिल्म बन्ने हुँदा नराम्रा फिल्म पनि बल्कबस्टर हुन्थे । तर, अहिले ५१ दिन त टाढाको कुरा हलमा एक हप्ता टिक्न पनि नेपाली फिल्मलाई ठूलो सकस हुन्छ । यस वर्ष दुई फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' ले एक हप्ताको अन्तरमा ५१ औं दिन मनाए । गत वर्ष 'शत्रु गते' ले मनाएको थियो ।
आफ्नै बजारमा नेपाली फिल्मलाई ५१ औं दिन मनाउन महाभारत भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब भएको कन्नड फिल्म ‘केजीएफ’ ले भने नेपाली हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ । कन्नड सुपरस्टार यश अभिनीत यस फिल्मले आइतबारबाट नेपालमा ५१ औं दिन मनाएको हो । यो फिल्मलाई मनोज राठीको टिमले नेपाल ल्याएको हो ।
वितरक राठीले अहिले फिल्म काठमाडौंको सिटी सेन्टरको चौथो तल्लामा रहेको बिग मुभिजमा ५१ औं हप्तामा प्रदर्शन भइरहेको बताए । यो फिल्मले नेपालमा राम्रो पैसा छापेको छ । तर, फिल्मको कलेक्सन रिपोर्ट भने उनले खुलाउन चाहेनन् । विशेष स्रोतका अनुसार, राठीले उक्त फिल्म दश लाख भारुमा नेपाल ल्याएका हुन् ।
राठीले फिल्मीखबरसँग कुरा गर्दै भने, ‘नेपालमा पहिलो पटक कन्नड फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नेपालमा यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । अझैसम्म पनि फिल्म हेर्ने दर्शक राम्रो छन् ।’ प्रदर्शनको ५१ औं दिनको अवसर पारेर वितरक कम्पनीले फिल्मको आइतबार साँझ स्पेशल स्क्रिनिङ राखेको छ ।
‘केजीएफ’ पाँच अलग-अलग भाषामा निर्माण भएको थियो । कन्नडको सबैभन्दा महँगो यो फिल्म ७० को दशकको कार्यकालमा आधारित पिरियड ड्रामा हो । यसको दोस्रो भाग पनि निर्माण हुनेछ । श्रीनिधि शेट्टी, राम्या कृष्ण, अच्युथ रावलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया