बर्षा र संजोगले गरे टिकाटालो
काठमाडौं । आउँदो फागुन २ गते प्रेम दिवसको दिन ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले दुबै परिवारको उपस्थितिमा टिकाटालो गरेका छन् ।
इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ–आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।
केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । अहिले उनीहरुलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो लागेको छ । ‘सन्सा’ जोडीको विवाह २०७५ को सबैभन्दा प्रतिक्षीत वेडिङ हो
अभिनेत्री वर्षाले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बाचा गरेकी छन् । उनको नयाँ फिल्म 'गोपी' अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनको 'चौका दाउ' प्रदर्शनमा आएको थियो । दुबै फिल्म बक्सअफिसमा पत्तासाफ भए । अहिले उनी 'जात्रै जात्रा' मा व्यस्त छिन् ।
प्रतिक्रिया