‘कोरियाना कफीगफ’ लिएर आए नारायण वाग्ले
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बजारमा उपलब्ध भएको छ । दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो।
पब्लिकेशन्स नेपालयको सुरुवात नै वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’बाट भएको थियो । त्यसले साहित्यिक कृतिहरुको नयाँ पाठक घेरा जन्माउनुका साथै थुप्रै मानकहरु तयार पारेको थियो। नेपाली साहित्यलाई नयाँ युग सुहाउँदो हुनेगरि त्यस पुस्तकको प्रवर्द्धनले पनि आधुनिक बाटो अख्तियार गरेको थियो जसले पछिल्लो समयमा आम प्रवृत्तिकै रुप लिनपुग्यो। यसपाला भने उनै वाग्लेको पछिल्लो कृतिलाई उही पब्लिकेशन्स नेपालयले कुनै पनि औपचारिक विमोचन समारोह नराखेर सार्वजनिक भएको घोषणा गर्दैछ।
वाग्लेले समाचार कक्षभन्दा बाहिर गरेका साहित्यिक सिर्जनाका प्रतिफल अघिल्ला दुई पुस्तक भएता पनि यो पुस्तक भने उनले समाचार कक्षभित्रै सुरू गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित छ।
यो पूर्व प्रकाशित कफीगफहरूको संग्रह नभई केहि समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो। त्यसैले पाठकहरूले यसलाई वाग्लेको अघिल्ला दुई उपन्यास भन्दा बेग्लै ‘सिर्जनशील गैरआख्यान’ पुस्तकका रुपमा पाउनेछन्। गैरआख्यान भएता पनि यसमा उपन्यासका पाठकहरूले आख्यानको आनन्द पनि पाउन सक्ने वाग्ले बताउँछन्।
पुस्तकलाई पब्लिकेशन्स नेपालयले नियमित बिक्री वितरण प्रणालीमार्फत् मुलुकभर फिजाउने योजना तय गरेको छ। त्यसको निम्ति देसभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरूमा यो उपलब्ध हुने तयारीमा छ। मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ। यो परम्परागत बिक्री प्रणालीबाहेक यसपटक पब्लिकेशन्स नेपालयले इच्छुक पाठकहरूका निम्ति घरैमा पुस्तक लगिदिने चाँजोपाँजो पनि मिलाएको छ। त्यसको निम्ति कुनै पनि पाठकले कम्प्युटर वा मोबाइलको एक क्लिकबाटै यो सेवाको आनन्द लिन सक्नेछन्। इन्टरनेटमार्फत् ‘थुप्रै डट कम’ ( www.thuprai.com ) ‘किताब यात्रा डट कम’ ( www.kitabyatra.com ) र ‘सस्तो बुक डट कम’( www.sastobook.com ) जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुनेछ। यस्तो सेवा मुलुकका सबैजसो प्रमुख सहरहरुमा उपलब्ध छ। त्यसबाहेक यसलाई संसारभरि अमेजनमार्फत् पनि उपलब्ध गराइसकिएको छ।
प्रतिक्रिया