संकटकाल घोषणासँगै ट्रम्पको चौतर्फी आलोचना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्ति प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेसँगै उनको चौतर्फी आलोचना बढेको छ । संकट वा आपत् आइपर्दा मात्र गरिने संकटकाल घोषणा राजनीतिक अभीष्ट पूरा गर्नका लागि गरेको भन्दै राष्ट्रपतिको व्यापक आलोचना भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरेपछि न्युयोर्कलगायतमा विरोध प्रदर्शन भइरहेको छ ।
विपक्षी दल डेमोक्रयाटले राष्ट्रपतिको घोषणा ‘शक्तिको दुरुपयोग’ भन्दै अदालतमा चुनौती दिने बताएका छन् । डेमोक्रयाटले राष्ट्रपतिको कदमविरुद्ध उपलब्ध सबै उपचार खोज्ने बताएको छ । राष्ट्रपति ट्रम्पले मेक्सिको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि संकटकाल लगाएका हुन् । संकटकालको घोषणापछि उनले सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट पर्खाल निर्माणमा खर्च गर्न पाउँछन् । सीमामा पर्खाल निर्माण गर्ने राष्ट्रपतिको चुनावी प्रतिबद्धता हो ।
राष्ट्रपतिले संकटकाल घोषणा गरेको केही घण्टाभित्रै ‘पब्लिक सिजिजन’ नामक समूहले प्रकृति संरक्षणकालागि पर्खाल निर्माण अनुपयुक्त भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । त्यसैगरी आफ्नो जग्गामा पर्खाल बनाउन लागिएको भन्दै ३ जनाले अदालतमा चुनौती दिइसकेको बीबीसीले जनाएको छ ।क्यालिफोर्निया र न्युयोर्कले कंग्रेसलाई छलेर संकटकाल घोषणा गर्ने राष्ट्रपतिको कदमविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले राष्ट्रपतिको कदम ‘राजनीतिक नाटक’ भएको बताउँदै खारेजको घोषणा गरेका छन् । उनले राष्ट्रपतिविरुद्ध मुद्दा दायर गर्ने जनाउँदै भनेका छन्–‘धन्न, डोनाल्ड ट्रम्प अन्तिम शब्द होइन । अदालत अन्तिम शब्द हुनेछ ।’
प्रतिक्रिया