२०७५ को 'हिट लिस्ट' मा दर्ता भएको फिल्म ‘प्रसाद’ यूएईका ११ हलमा
काठमाडौं । नेपालमा वर्ष २०७५ को 'हिट लिस्ट' मा दर्ता भएको फिल्म ‘प्रसाद’ यूएईमा प्रदर्शन भइरहेको छ । 'प्रेम दिवस' को अवसर पारेर बिहीवारबाट यूएईका ११ ओटा हलिउड र बलिउड फिल्म रिलिज हुने हलमा फिल्म प्रदर्शनमा आएको हो ।
यूएईमा बसोबास गर्ने नेपालीहरुले यो फिल्मको निकै प्रतिक्षा गरेर बसेका थिए । विकास नेटवर्कमार्फत् विकास सुवेदी र आशिष पुरुषले यूएईमा भित्राएको ‘प्रसाद’ को पहिलो र दोस्रो दिनको सोज हाउसफुल भएको जानकारी प्राप्त छ । फिल्म हेर्ने दर्शकको संख्यामा हरेक दिन वृद्धि भइरहेको विकासले बताए ।
उनका अनुसार, 'प्रसाद' ले यूएईका ११ ओटा हलमा दैनिक १३ सोज पाइरहेको छ । उनले भने, 'यो नेपाली फिल्म क्षेत्रका लागि पनि खुसीको कुरा हो । विदेशी फिल्मबीच पनि नेपाली फिल्मले विदेशमा १३ सोज पाउनु चानचुने कुरा होइन । यो आफैंमा ऐतिहासिक क्षण हो ।' फिल्म दुई हप्तासम्म चल्ने विश्वास उनको छ ।
यो फिल्म 'बलिउड सिनेमा हल' मा समेत प्रदर्शनमा आएको छ । 'प्रसाद' ले नेपालमा मात्र नभइ विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । फिल्मको अष्ट्रेलियामा नियमित ३५ सो भइसकेको छ । अन्य देशमा पनि फिल्मको माग चर्को छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
एक निःसन्तान दाम्पत्तिको जीवनमा आउने उचारचढावको कथा पेश गरेको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् । समीक्षक सुशील पौडेलले फिल्मको कथा लेखेका हुन् । यस फिल्मको 'लै लै' र 'बनकी चरी' गीत निकै लोकप्रिय छ ।
प्रतिक्रिया