प्रहरीकै मिलेमतोमा तराईबाट यसरी हुन्छ मरिच तस्करी, सिरहामा अखडा
आलोक यादव/ सिरहा । सिरहा जिल्लामा पिकअप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ ।
लहानका केही व्यापारीहरूले मरिच भारत पैठारी गराउने गरेको खुलासा भएको छ । यसअघि यही गिरोहले सुपारी, सुकुमेल, लसुन, स्याउलगायत तेस्रो मुलुकबाट खरिद गरी अवैध रुपमा भारत पैठारी गराउँदै आएको थियो । अहिले त्यही गिरोहले मरिच तस्करीमा सक्रिय भएको आरोप छ ।
लहानमा चाउचाउको वोर्ड लगाइएको एउटा जिपलाई पिछा गर्दा वरियारपट्टी गाउँपालिकामा पर्ने सीमावर्ती गाउँ ब्रहरीको एउटा पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पिकअप जिपबाट केही चाउचाउको प्याकेट पनि झारिएको थियो । तर, पिकअप जिपबाट मरिचका बोरा अनलोड गरी पक्की घरमा राखेको स्रोतले जनाएको छ ।
मरिचको बोरा कचनारी प्रहरीकै संरक्षणमा अवैध रुपमा भारत पैठारी गर्ने गरेको स्थानीयको आरोप छ ।
तेस्रो मुलुकबाट आयात गरिने मरिच नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने मरिच नेपालमा खपत भएको देखिदैन ।
यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् ।
मरिच नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य पर्छ । सोही कारण मरिचलाई अबैध रुपमा भारत निकासी हुने गरेको छ ।
सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट मरिच चोरी निकासी हुनेगर्छ ।
भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपियाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ ।
यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो ।
सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे ।
कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काकै सहयोगमा मरिच भारत पैठारी हुने गरेको आरोप छ । खड्काले तस्करी रोक्ने विषयमा ध्यान नदिएको स्थानीयको भनाइ छ ।
प्रहरीकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले मरिच तस्करीमा प्रहरीको कुनै संलग्नता नरहेको बताउँछन् । यदि यस्तो भइरहेको छ भने यथाशीघ्र कारोबार बन्द हुने उनले बताए ।
प्रतिक्रिया